७ माघ २०८१, सोमबार

तीन एअरलाईन्सले कोरोना महामारीमा बढी भाडा असुलेको निष्कर्ष, कारबाही गर्न सिफारिस

प्रकाशित मिति :  1 September, 2021 6:01 pm


काठमाडौं । कोरोना महामारीका बेला चार्टड लगायत अन्तराष्ट्रिय हवाई उडानमा महंगो भाडा लिएको भन्दै टर्किस एअरलाइन्स, कतार एअरलाइन्स र हिमालय एअरलाईन्सलाई थप अनुसन्धान गरेर कारबाही गर्न सिफारिस गरिएको छ ।

छानविन समितिले तीनवटै एअरलाईन्सले तोकेभन्दा बढी भाडा लिएको भन्दै यस कार्यमा संलग्नहरू उपर थप विस्तृत अनुसन्धान एवं कारबाहीका लागि सम्बन्धित नियामक निकायमा सिफारिस गर्नुपर्ने भन्ने सुझाव सहितको प्रतिवेदन बुझाएको हो ।

कोभिड–१९ को महामारीको समयमा चार्टर्ड लगायत अन्य अन्तर्राष्ट्रिय हवाई उडानमा भाडा महंगो भएको सम्बन्धमा प्राप्त गुनासोहरु उपर छानविन गर्न मिति गत असार ७ गते छानविन समिति गठन भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा गठित समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाई प्रतिवेदन बुझाएको हो ।

समितिमा २५ वटा उजुरी परेका थिए । जसमध्ये कतार एयरवेजको चार्टर उडानसंग सम्बन्धित १६ वटा, टर्किस एयरलाइन्सको ७ वटा र हिमालयन एयरलाइन्ससंग सम्बन्धित २ वटा उजुरीहरू थिए ।

प्राप्त उजुरीहरुमध्ये कतार एयरवेजको उडानसँग सम्बन्धित ९ वटा टिकटमा निर्धारित भन्दा बढी भाडा लिएको, टर्किस एयरलाइन्सको उडानको २ वटा टिकटमा र हिमालयन एयरलाइन्सको २ वटा टिकटमा निर्धारितभन्दा बढी भाडा लिएको पाइएको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !