यूएईसंगको व्यापार घाटा कम गर्न संयुक्त लगानीमा जोड
काठमाडौं । नेपाल र संयुक्त अरव इमिरेट्स बीचको आर्थिक व्यवसायिक सम्बन्धलाई थप प्रगाढ पार्नुपर्नेमा जोड दिएको छ । द्विपक्षीय व्यापार विस्तार एवं संयुुक्त लगानी, प्रविधि आकर्षण तथा नेपालको निर्यात प्रवद्र्धनमा दुुवै देश बीच गम्भीर गृहकार्य हुनुपर्नेमा नेपाल उधोग वाणिज्य महासंघको जोड छ ।
नेपालका लागि संयुक्त अरव इमिरेट्सका राजदूत सइद हमदान अल नाकवी र महासंघका अध्यक्ष शेखर गोल्छा बीच महासंघ सचिवालयमा भएको भेटवार्तामा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिइएको हो ।
दुवै मुलुक बीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा नेपालले व्यहोर्दै आएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २०२०÷२१ मा ३६ अर्व भन्दा बढीको व्यापार घाटा रहयो भने सन् २०१९÷२० मा करिव १८ अर्व र २०१८÷१९ मा ३५ अर्वको व्यापार घाटा थियो ।
नेपालले तयारी पोसाक, हाते गलैचा तथा हस्तकलाका सामानहरू, मुसुुरोका दाल लगायतका सामग्रीहरू निर्यात गर्दै आएको छ भने सुन तथा चांदी, खनिज तेल र यससंग सम्बन्धित अन्य उत्पादनहरू, प्लाष्टिक्स तथा प्लाष्टिक्सजन्य सामानहरू, कपर स्क्राप, चकलेट, कार्पेट्स तथा अन्य ओछ्याउने वस्तुहरू आयात गर्दछ ।
उद्योग विभागका अनुसार २०७८ असार ३१ सम्म नेपालमा कृषि तथा वनमा आधारित, उर्जा, आईटी, उत्पादनमुलक, खानी, सेवा र पर्यटन क्षेत्रमा गरी २३ वटा संयुक्त लगानीका परियोजनाहरू रहेका छन् । व्यापार घाटा कम गर्न र आपसी आर्थिक सम्बन्धलाई थप विस्तार गर्न सहकार्यका क्षेत्रहरू पहिचान गरेर अगाडि बढ्नुपर्नेमा उनीहरूको जोड थियो ।
नेपालको प्रमुख श्रम गन्तव्य मध्येको एक संयुक्त अरव इमिरेट्सतर्फ नेपालबाट कृषि उत्पादन निर्यातको बलियो सम्भावना रहेकाले कृषिमा संयुक्त लगानी आकर्षणमा जोड दिएको छ ।
यसका लागि दुवै देशका सरकार–सरकार र निजी क्षेत्र–निजी क्षेत्र बीचको समन्वय र सहकार्यलाई अझ घनीभुतढंगबाट लैजानुुपर्नेमा भेटवार्तामा जोड दिइएको थियो ।
सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले आपसी सम्भाव्यतालाई सफल पार्न आर्थिक कुटनीतिको सहयोगको अपेक्षा गरेका छन् ।
यूएईसंग आर्थिक सम्बन्ध मजवुद वनाउने कार्यमा नेपाली निजी क्षेत्र लालयित रहेकाले सहयोग गर्न राजदूतलाई आग्रह गरे । राजदूत सइद हमदान अल नाकवीले आफ्नोतर्फबाट आपसी आर्थिक सम्बन्ध विस्तारका हरेक प्रयास र दुवै देशका निजी क्षेत्र बीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा राजदूतावासको सदैव सहयोग रहने विश्वास दिलाएका छन् ।