अफगानी केन्द्रीय बैंकद्वारा सुरक्षित सञ्चिती फुकुवा गर्न अमेरिकालाई आग्रह
काठमाडौं । अफगानिस्तानको केन्द्रीय बैंकको बोर्डले अमेरिकालाई सुरक्षित सञ्चितीमाथि तालिबानको पहुँच कायम हुने गरी फुकुवा गर्न आग्रह गरेको छ ।
अफगानिस्तान बैंकको बोर्ड सदस्य शाह मेहराबीले अमेरिका र अन्तर्राष्ट्रिय मुद्रा कोषलाई यसबारे गम्भीर कदम चाल्न आग्रह गरिएको जनाएका छन् ।
अमेरिकी बैंकहरूमा अफगानिस्तान केन्द्रीय बैंकको ९ अर्ब ४० करोड अमेरिकी डलर बराबरको सुरक्षित सञ्चिती अमेरिकाले रोक्का गरेको छ । सो रोक्का रकम फुकुवा गर्न आग्रह गरिएको हो ।
अमेरिकाले रोक्का लगाउने कारबाही अस्थायी प्रकृतिको भएको भन्दै तालिबानले आफ्ना बाँकी प्रतिबद्धता पूरा गरे फुकुवा गरिने जनाएको छ ।
अफगानिस्तानमा खानेकुराको मूल्य तथा इन्धनको मूल्य दोब्बर हुन पुगेको र रोजगारको अवस्थामा नाटकीयरूपमा गिरावट आएकोले स्थिति निकृष्ट अवस्थामा पुगेको छ ।
अफगानिस्तानलाई आर्थिक संकटमा धकेल्ने मनसाय अन्तर्राष्ट्रिय समुदायको नभए रोकिएको रकम फुकुवा गर्न आग्रह गरिएको शाह मेहराबीले जनाए ।
तालिबानले यसअघि अन्तर्राष्ट्रिय समुदायसँग मैत्रीपूर्ण सम्बन्धहरूको विकास गर्न चाहिरहेको बताएका छन् ।