विभाजनपछि पनि एमालेभित्रको विवाद नसकिएको संकेत
काठमाडौं । केपी शर्मा ओली अध्यक्ष भएको एमालेमा हुँदै आएको भाँडभैलो रोक्न विधि प्रक्रियाको वकालत गर्ने एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो अध्यक्षतामा नेकपा( एकीकृत समाजवादी) पार्टी खोलिसकेको भएपनि एमाले भित्र विवाद कायमै रहेको देखिएको छ ।
एमालेले जेठ २ गतेमा फर्किने निर्णय गरेको एकसाता नबित्दै पार्टीमा विवाद देखिएको छ ।
गत भदौ ९ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने निर्णय गरेर परिपत्र जारी गरेको थियो ।
तर अध्यक्ष ओलीपक्ष एकलौटी गरी अघि बढ्न खोजेको आशंका तेस्रो धारका नेताहरुले गरेका छन् ।
प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन नेपाल (पीपीएलए)का अध्यक्ष रुद्रप्रसाद नेपालले जारी गरेको विज्ञप्ति सार्वजनिक भएबाट यस्तो देखिएको हो ।
अध्यक्ष ओली पक्षले संगठनका अध्यक्ष नेपालाई जानकारी नदिइ भदौ १८ गते पीपीएलएको नाममा केन्द्रीय समितिको भेला बोलाएको छ ।
त्यसको प्रतिवाद गर्दै नेपालले त्यस्तो केन्द्रीय समितिको कुनै निर्णय नभएको भनी विज्ञप्ति जारी गरे ।
तुल्सीलाल प्रतिष्ठानमा गर्न लागिएको सो भेलामा प्रमुख अतिथिका रूपमा अध्यक्ष ओलीको सहभागिता दर्शाउँदै कार्ड छापिएको छ ।
भेलाबारे तेस्रो धारका भनिएका नेतालाई समेत जानकारी गराइएको छैन ।
एमालेभित्र सम्पूर्ण जनसंगठनको एकीकरण व्यवस्थित गर्ने सम्बन्धमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र नेता टोपबहादुर रायमाझीलाई जिम्मेवारी तोकिएको छ । उनीहरुलाई समेत थाहा नै नदिई ओली पक्षले भेला राखेको भन्दै हलचल भएको छ ।
नेकपा एमालेभित्र माधव नेपाललाई साथ दिँदै आएका नेताहरु नेकपा एकीकृत समाजवादी गठन भएपछि एमालेमै रहेका थिए । तर यो घटनाले तेस्रो धारका नेतालाई झस्काएको छ ।