शनिबारदेखि अफगानिस्तानका बैंक तथा वित्तीय संस्थाहरू खुल्ने
काठमाडौं । अफगानिस्तानका बैंक तथा वित्तीय संघसंस्थाहरू शनिबारदेखि खुल्न सुरु हुने भएको छ ।
अफगानिस्तानको केन्द्रीय बैंकले राजधानी काबुलस्थित देशको सबै भन्दा ठूलो मुद्रा विनिमय बजारको रूपमा चिनिएको सराय शहजादा शनिबारदेखि खुल्ने जनाएको छ ।
सराय शहजादा मुद्रा सटही गर्ने ठाउँ मात्रै नभएर सरकारको वित्तीय कारोबार हुने क्षेत्रको रूपमा परिचित छ ।
केन्द्रीय बैंकले जनतालाई उनीहरूको नियमित काम सामान्यरूपमा गर्न जान आग्रह गर्दै निजी बैंक तथा वाणिज्य बैंकहरू पनि खुल्ने जनाएको छ ।
बैंकिङ कारोबारमा उपलब्ध भइआएको सुविधामा थप विस्तार गरिने अफगानिस्तानको केन्द्रीय बैकले जनाएको छ ।
तालिबानले काबुल कब्जा गरेयता सराय शहजादालगायतका क्षेत्र बन्द भएको थियो ।
नयाँ सरकारका लागि सरोकारवाला पक्षसँगको वार्तालाई निरन्तरता दिँदै तालिबानहरूले प्रक्रिया अगाडि बढाइरहेको बेला वित्तीय संस्थाहरू खोल्ने निर्णयले जनतामा विश्वास पलाउने भएको छ ।