स्थगित खेलकुद प्रतियोगिताको नाममा फलेवास नगरपालिकाद्धारा साढे ७ लाख खर्च
काठमाडौं । पर्वत जिल्लाको फलेवास नगरपालिकाले खेलकुद प्रतियोगिता संचालननै नगरी रकम खर्च गरेको छ । महालेखाले हालै सार्वजनिक गरेको ५८ औं प्रतिवेदन अनुसार नगरपालिकाले स्थगित गरिएको मेयरकप तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको नाममा ७ लाख ५० हजार १६ रुपैयाँ खर्च गरेको छ ।
स्थगित मेयरकप तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा २०७६ फाल्गुन २२ देखि २५ सम्म संचालन गर्ने भनि तयारी गरेकोमा कोभिड १९ को जोखिमका कारण तथा २१ गते ठूलो पानी परेपछि खेल सञ्चालन गर्न सम्भव नरहेकोले प्रतियोगिता स्थगित भएको पालिकाले जनाएको र उक्त खेल ०७७ साल फागुन १५ गते सम्म पनि संचालन नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उक्त खेलकुद आयोजनाका लागि नगरपालिका पुजिगतबाट पेश्की फछ्यौट रु.६००००० सहित रु.६५००१६ र शसर्तबाट रु.१००००० गरी रु.७५००१६ खर्च भएको देखिन्छ । जसमा अनुगमन खर्च रु.३९०००, एम्पाएर खर्च १५ जनालाई रु.१५०० का दरले खेलका आधारमा रु.५८५००, बैठक खर्च रु.४९५०० टिम दर्तामा खर्च रु.३८००० र पुरस्कार सामाग्री तथा खेलकुद सामाग्री लगाएत व्यवस्थापनमा रु.५६५०१६ गरी रु.७५००१६ खर्च देखाएको महालेखाले जनाएको छ ।
खेलकुदका लागि खरिद गरिएको सामाग्रीको जानकारी माग गर्दा अन्नपूर्ण मा. वि. कार्कीनेटामा विद्यालयको रोहबरमा रहने गरी अफिसियल जर्सी १९ थान, जर्सी सेट २०० थान, शिल्ड मुख्य १ थान, शिल्ड अन्य ४ थान, मेडल २१२ थान, भलिबल ६ थान, नेट २ थान, पम्प २ थान, मेजरिङ टेप २ थान रहेको पालिकाले जनाएको छ ।
यसरी खेलकुद प्रतियोगिता सञ्चालन बिना पेश्की फछ्यौट गरिएको नियमसम्मत नदेखिएको भन्दै महालेखाले पालिकाले खेलकुद सामाग्री र खेलकुद खर्चको सदुपयोगका लागि प्रतियोगिता संचालन गरि सोही खर्च र सामाग्रीमा कार्यक्रम धेरै व्ययभार नपर्ने गरी आयोजना गर्न निर्देशन दिएको छ ।
खेलकुद कार्यक्रम संचालन बिना एम्पाएरलाई भुक्तानी दिएको भनिएको रु.४९७२५ रकम नियमसम्मत नदेखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।