हरितालिका तीज अघि पशुपतिनाथको मन्दिर खोलिने
काठमाडौं । हरितालिका तीज अघि पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने विषयमा छलफल सुरु भएको छ ।
पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले यसबारे सरोकारवाला निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग छलफल अगाडि बढाएको जनाएका छन् ।
गत वैशाख पहिलो सातादेखि पशुपतिनाथको मूल मन्दिरलगायत देवालय शिवालय एवं गुह्येश्वरीलगायत धामिर्कस्थलहरू भक्तजनका लागि बन्द गरिएको थियो ।
कोरोनाको जोखिम कम हुँदै गएको र नेपाली महिलाहरूका लागि महान् चाड हरितालिका तीजको अवसर नजिकिएकोले त्यसअघि पशुपतिनाथ मन्दिर खोल्ने विषयमा सरोकारवाला निकायका जिम्मेवारी पदाधिकारीहरूसँग छलफल गरिएको कोषका अधिकारीहरूले जानकारी सार्वजनिक गरेका छन् ।
भौतिक दूरीलगायतका स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पशुपति क्षेत्र खुला गर्न लागिएको कोषका पदाधिकारीहरूले जनाएको सरकारी समाचार नियोग राससले जनाएको छ।