राष्ट्रिय जनमोर्चाले भन्यो,‘ नेपाली आकाशमाथि भारतले हेलिकोप्टर उडाउनु अखण्डतामाथिको चुनौती’
काठमाडौं । राष्ट्रिय जनमोर्चाले दार्चुला जिल्लामा नेपालको स्वीकृति बिना भारतले हेलिकोप्टर उडाएर नेपालको अखण्डता र सार्वभौमसत्तामाथि चुनौती दिएको टिप्पणी गरेको छ ।
महासचिव मनोज भट्टले विज्ञप्ति जारी गर्दै नेपाली आकाशमा हेलिकोप्टर उडाएर नेपालको राष्ट्रियता तथा सार्वभौमिकता र अखण्डतामाथि चुनौति दिएको बताएका हुन् ।
उनले महाकालीमा तुइन काटेर जयसिंह धामीलाई बेपत्ता बनाएको स्मरण गर्दै भारतको उक्त हर्कतविरुद्ध सरकारले दृढतापूर्वक कुरा राख्न माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ,“नेपालको स्वीकृतिबिना दार्चुला जिल्लाको सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको गुरु गुल्म हेडक्वाटर, लेकम, मालिकार्जुन, महाकाली, दुहुँ र व्यास गाउँपालिका क्षेत्रको आकाशमा पटक–पटक भारतीय हेलिकोप्टर उडेको समाचार सार्वजनिक भएको बारे हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ ।”
विज्ञप्तिमा अगाडि भनिएको छ,“नेपालको स्वीकृतिबिना नेपालको आकाशमाथि भारतीय हेलिकोप्टर उडाउने कार्य गरेर भारतले अन्तर्राष्ट्रिय नियमको उल्लंघन गर्नुका साथै नेपालको राष्ट्रियता तथा सार्वभौमिकता र अखण्डतामाथि चुनौति दिएको छ । भारतको उक्त हस्तक्षेपकारी कार्यको हाम्रो पार्टीले घोर विरोध तथा भत्र्सना गर्दछ ।”
त्यसप्रकारका हर्कत नगर्न नेपाल सरकारले भारतीय पक्षसँग दृढतापूर्वक कुटनीतिक पहल गर्नुपर्ने कुरामा जनमोर्चाले जोड दिएको छ ।