नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी र सचिवालय गठन,सुदूरपश्चिमबाहेक सबै प्रदेशका इन्चार्ज तोकियो
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी कमिटी,सचिवालय र प्रदेश इन्चार्ज तोकेको छ ।
पार्टीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्म काम गर्नका लागि भन्दै नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी,सचिवालय र प्रदेश इन्चार्च तोकेको हो ।
अन्तरपार्टी निर्देशनमा उल्लेख भए अनुसार अध्यक्ष माधवकुमार नेपाल,वरिष्ठ नेता झलनाथ खनाल र पहिले नेकपा हुँदा स्थायी कमिटीमा रहेका मुकुन्द न्यौपाने,डा.बेदुराम भुसाल र प्रमेश हमाल रहेको स्थायी कमिटी चयन गरिएको छ ।
त्यस्तै पार्टीको दैनिक कार्य सम्पादन गर्नका लागि डा.भुसालको संयोजकत्वमा प्रमेश हमाल,राजेन्द्र पाण्डे,डा.गंगालाल तुलाधर,डा.विजय पौडेल,जयन्ती राई र जीवना राम श्रेष्ठ रहेको सचिवालय पनि गठन गरिएको छ ।
केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी तुलाधरलाई दिइएको छ ।
प्रदेश इन्चार्जहरूमा प्रदेश १ मा घनेन्द्र बस्नेत,प्रदेश २ मा धर्मनाथ साह,बागमतीमा केदार न्यौपाने,गण्डकीमा केशवलाल श्रेष्ठ,लुम्बिनीमा भागवत विश्वासी,कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई तोकिएको छ ।
सुदूरपश्चिम प्रदेशमा भने पछि तय गर्ने उल्लेख छ । उपत्यका विशेष प्रदेशमा विश्वनाथ प्याकुरेल,सम्पर्क विशेष प्रदेशमा विजय गुरुङ, मोर्चा इन्चार्जमा डा.विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रलाई श्रीप्रसाद शाहलाई ज्रिम्मेवारी दिइएको छ ।
अदालत र निर्वाचन आयोग सम्बन्धी काम हेर्ने जिम्मेवारी राजेन्द्र पाण्डे,विजय पौडेल र रामकुमारी झाँक्रीलाई तथा संसदीय कामका लागि विरोध खतिवडा,कल्याणी खड्का,जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई तोकिएको छ ।