एमसीसी पास हुन नदिन बाइस दलीय गठबन्धनकोे आह्वान
काठमाडौं । अमेरिकी सरकारद्वारा प्रायोजित एमसीसी परियोजना विरूद्ध मोर्चाबन्दी गर्न बाइस दलीय गठबन्धनले आह्वान गरेको छ ।
बाइस दलीय गठबन्धनको तर्फबाट सीपी गजुरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ “राष्ट्रघाती एमसीसी परियोजना नेपालको संसद्बाट अनुमोदन गराउने प्रयास देशभक्तहरूको विरोधका कारण अहिलेसम्म सफल हुन् सकिरहेको छैन ।
थप दबाव सिर्जना गर्नका लागि उक्त परियोजनाकी उपाध्यक्षलगायतका पदाधिकारीहरूको लस्कर नेपाल आउँदैछ । यो भ्रमण हाम्रो राष्ट्रिय हितविपरीत हुने भएकाले हामी यसको खारेजीको माग गर्दछौं ।”
एमसीसी पारित गराउने काम नरोकिए यस विरूद्ध विरोध प्रदर्शन गर्ने चेतावनी दिँदै विज्ञप्तिमा भनिएको छ “ यदि त्यसो गरिएन भने त्यसका विरूद्ध विरोध प्रदर्शनहरूको आयोजना गरिनेछ । उक्त कार्यक्रममा सहभागिताका लागि तयार रहन सम्पूर्ण देशभक्तहरूलाई हामी आह्वान गर्दछौं । ठोस कार्यक्रम चाँडै नै सार्वजनिक गरिनेछ ।”
यसरी विज्ञप्ति जनाउने बाइस दलीय गठबन्धनहरूमा नेकपा (मसाल) , नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले) , नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा , देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी) , नेकपा (माओवादी मोर्चा), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी , नेकपा (संयुक्त) , राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी , नेकपा (बोल्शेविक) , एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान
, नेकपा (माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।