८ माघ २०८१, मंगलबार

विज्ञप्ति फिर्ता लिन गृह मन्त्रालयलाई विप्लव नेतृत्व नेकपाको चेतावनी

प्रकाशित मिति :  5 September, 2021 2:14 pm


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गृह मन्त्रालयलाई आफ्नो विज्ञप्ति फिर्ता लिन चेतावनी दिँदै देश र राष्ट्रियता कसैलाई पनि भेटी चढाउन नसकिने बताएको छ ।

केन्द्रीय जनपरिषद प्रमुख सन्तोष बुढामगरले आज विज्ञप्ति जारी गरी गर्दै सरकारले एमसीसीतिर लक्षित गर्दै ‘विदेशी मित्र राष्ट्रहरूको सहयोगमा सञ्चालित आयोजनाका बारेमा नकारात्मक टिप्पणी नगर्न’ र ‘मित्र राष्ट्रहरूको विरोध गर्नेलाई सूक्ष्म निगरानी गरिनेछ’ भनी जनतालाई सूचनाको हकबाट कटाउने, विदेशी मित्र राष्ट्रहरूको सहयोगका नाममा जस्तोसुकै राष्ट्रघाती सन्धिसम्झौता गरे पनि यसलाई चुपचाप सहने र नेपाल र नेपाली जनताको अस्मिता निर्बाध लुट्न दिने षड्यन्त्र गरेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,“यही शुक्रबार गृह मन्त्रालयले एमसीसीतिर लक्षित गर्दै ‘विदेशी मित्र राष्ट्रहरूको सहयोगमा सञ्चालित आयोजनाका बारेमा नकारात्मक टिप्पणी नगर्न’ र ‘मित्र राष्ट्रहरूको विरोध गर्नेलाई सूक्ष्म निगरानी गरिनेछ’ भनी प्रेसविज्ञप्ति सार्वजनिक गरेको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ ।”

गृह मन्त्रालयले अमूर्त भाषामा एमसीसीतिर लक्षित गर्दै ‘यसको विरोध गर्नेलाई सूक्ष्म निगरानी र कानुनी कारबाही गर्ने’ भन्नुको अर्थ जनतालाई सूचनाको हकबाट कटाउने, विदेशी मित्र राष्ट्रहरूको सहयोगका नाममा जस्तोसुकै राष्ट्रघाती सन्धिसम्झौता गरे पनि यसलाई चुपचाप सहने र नेपाल र नेपाली जनताको अस्मिता निर्बाध लुट्न दिनेभन्दा अर्को अर्थ नलग्ने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा थप भनिएको छ,“हामी भन्छौँ– नेपाल नेपालीहरूको हो । हामी नेपालमा स्वतन्त्र भएर बाँच्न चाहन्छौँं । त्यो हक हामी नेपालीहरूमा छ । हामी कुनै मित्र राष्ट्रको सहयोगका नाममा देश र राष्ट्रियता कसैलाई पनि भेटी चढाउन चाहन्नौँ । निःस्वार्थ र स्वच्छ आत्माले नेपाल र नेपाली जनताको विकास र प्रगतिका लागि कुनै पनि मित्र राष्ट्रले दिने सहयोगप्रति हामी नकारात्मक छैनौँ तर एमसीसी त्यसरी नेपालीहरूको विकास र समृद्धिका लागि नभएर नेपाली जनताको सार्वभौमिकता र स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो ।”

यो सम्झौता नै असल नियतका साथ नआएको र यसको पछाडि गहिरो षड्यन्त्र रहेको उल्लेख छ । विज्ञप्तिमा यो दुर्नियतको घोर विरोध गर्ने भन्दै गृह मन्त्रालयको त्यो वक्तव्य फिर्ता लिन आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !