नेप्से हाल सम्मकै उच्च अंकले घट्यो : ३१ कम्पनीको सेयर मूल्य नकरात्मक सर्किट लेबलमा
काठमाडौं । साताको पहिलो दिन सेयर बजार भारी अंकले ओरालो लागेको छ । आइतबार कारोबार प्रि ओपन सेसनमा २ अंकले बढेको बजार कारोबार खुलेको २ घण्टामै १४७ अंकले घटेर नकरात्मक सर्किट लागेपछि ४० मिनेटको लागि कारोबार बन्द भएको थियो ।
२ बजेर ४० मिनेटमा कारोबार खुलेपछि बजार १५ मिनेट जति लयमा फर्किए पनि बजार पुनः ओरालो गतिमै थियो ।
नेप्सेका अनुसार आज नेप्से परिसूचक १०८.२६ अंकले घटेर २८१८.७२ अंकमा झरेको छ । नेप्से ३.७० प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १९.७६ अंकले घटेर ५२२.०१ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेको छ ।
म्युचुअल फण्ड र डिबेञ्चरसहित १४ वटा कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । जसमध्ये, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।
आज नेप्सेमा कारोबार रकमका आधारमा अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका अंग्रस्थानमा रहेको छ ।
त्यस्तै आज १३ वटा कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । भने १७ वटा कम्पनीको सेयर मूल्य नकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
कूल २२३ वटा कम्पनीको २ करोड ३० लाख ७९ हजार ८ सय ३२ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
त्यस्तै यता नेपाल राष्ट्र बैंकको १२ करोडको सीमा प्रकरणले गर्दा सेयर बजार घटेको भनी हाल विभिन्न माध्यमबाट राष्ट्र बैंकको विरोध भइरहेको छ ।
सेयर धितो कर्जाको सीमाको विरोध गर्दै लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकसँग गभर्नरको राजिनामासहित १६ बुँदे माग समेत गरेका छन् ।
भोलि (सोमबार) लगानीकर्ताहरूले राष्ट्र बैंक घेराउ कार्यक्रम गर्ने घोषणा पनि गरेका छन् ।
नेपाल राष्ट बैंकको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियोजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न नसकेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको यथाशिघ्र राजिनामाको माग गरिएको छ ।