सुदूरपश्चिममा नेकपा एमाले छोडेर एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १३ पुग्यो
धनगढी । सुदूरपश्चिममा नेकपा एमाले छोडेर एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १३ पुगेको छ।
यसअघि नै १० प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए भने आज थप तीन जना थपिएका छन् ।
आज भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए।
यससँगै सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी पाटी ठूलो दल बन्ने देखिएको छ । एमालेका अन्य केही सांसदलाई पनि तान्ने प्रयास भइरहेको नेकपा एकिकृत समाजवादी दलका नेताहरुले बताउका छन् ।