सेयर लगानीकर्ताले आज राष्ट्र बैंक घेराउ गर्दै
काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको सेयर धितो कर्जा सीमाको विरोधमा सेयर लगानीकर्ताहरुले आज राष्ट्र बैंक घेराउ गर्न लागेका छन् । सोमबार लगानीकर्ताहरुले रामकृष्ण ढकालको संयोजकत्वमा पुँजी बजार सुधार संघर्ष समितिले आज राष्ट्र बैंक घेराउ गर्ने कार्यक्रम गरेको हो ।
लगानीकर्ताहरुले गभर्नरको राजीनामा सहित, ४ करोड र १२ करोडको कर्जा सीमा तत्काल खारेजीजस्ता माग गरेका छन् ।
यस अघि कहिल्यै पनि नतोकिएको सेयर कर्जा सिमा यसपालीको मौद्रिक नीतिमा तोकिएको छ जसको कारण बजार निरन्तर घट्दै गएकोले यसलाई राष्ट्र बैंकले सच्याउनु आवश्यक रहेको नेपाल इन्भेन्र्टस फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले बताए ।
राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था मौद्रिक नीतिबाट गरेको थियो। यो व्यवस्थाले सेयर बजार प्रभावित हुने भन्दै केही लगानीकर्ताहरुले राष्ट्र बैंकको चर्को विरोध गरेका छन्।
संघर्ष समितिले हिजो १६ बुँदे विज्ञप्ति पनि जारी गरेको थियो। जसको पहिलो बुँदामै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने माग गरिएको छ।