८ माघ २०८१, मंगलबार

लोसपाले जोगाउला तीस प्रतिशत?, चाैतारमा बस्ने भन्छन्, ‘ये पब्लिक है सब जानती है !’

प्रकाशित मिति :  6 September, 2021 4:10 pm


जनकपुरधाम । प्रदेशसभा सदस्य तथा स्थानीय निकायका जनप्रतिनिधिहरूलाई लोकतान्त्रिक समाजवादी पार्टीले तानि लिएर जाने प्रयासलाई कमजोर पार्न जनता समाजवादी पार्टीका नेताहरू गाउँ गाउँ पुगेका छन् ।

पार्टीको सघन क्षेत्रको रूपमा प्रदेश नम्बर २ रहेकाले दुवै दलका नेताहरूले गाउँघर पुगेर आ-आफ्ना प्रयास थालेका छन् । प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि तानिलाने भूमिकामा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक पार्टीको रहेको छ ।

जसपाका नेताहरूलाई आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई जान नदिने प्रयास गनुपर्ने अवस्था विद्यमान छ ।

निर्वाचन आयोगले दिएको समय सकिन दुई दिन मात्र बाँकी रहेको बेलासम्म जसपा लोसपा भन्दा बलियो देखिएको छ । लोसपालाई केही सफलता मिलेको पनि देखिएको छ ।

लोसपामा सनाखत गर्ने जनप्रतिनिधिहरूको संख्या धेरै कम देखिएको नेताहरूले बताएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी मूलरूपमा एकीकरण हुन अघि राष्ट्रिय जनता पार्टी हो । राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका ६ जना अध्यक्षहरू मध्ये दुई जना महेन्द्र राय यादव र राज किशोर यादव उपेन्द्र यादव पक्षमा सनाखत गरिदिए पछि जसपा बलियो हुनु स्वाभाविक देखिएको थियो ।

तर पछि ठाकुर र राजेन्द्र महतो निकटका नेताहरू पनि जसपामा सनाखत गरेका कारण लोसपालाई राष्ट्रिय जनता पार्टीका बेला रहेको जनशक्ति रहने देखिदैन् । अर्कोतर्फ राजनीतिले पनि लोसपा पछाडिएको छ ।

अध्यादेशबाट विभाजित भइ बनेका दुई दल नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीमा राजनीतिक विचारको हिसाबले लोकतान्त्रिक समाजवादी कमजोर रहेको जसपाका एक नेताले जनाए ।

उनले भने, “नेकपा (एकीकृत समाजवादी)ले लोकतन्त्र, गणतन्त्र, समावेशी र संघीयता सहितको संविधान जोउन संघर्ष गरेको आधार र गर्व रहेको छ । तर लोतान्त्रिक समाजवादी पार्टीलाई त्यो अधार र गर्व रहेको छैन ।”

लोसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरूले जनकपुरधाम पुगी प्रदेश सभा सदस्य, पालिका अध्यक्ष, उपाध्यक्ष एवम् वडा अध्यक्षहरूलाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहे । त्यसको चार दिन पछि जसपा अध्यक्ष उपेन्द्र यादव बिहीबार जनकपुर पुगे ।

पुरानो राजपाबाटै चुनाव जितेका जनप्रतिनिधिहरूले लोसपालाई छोड्न थालेपछि अध्यक्ष ठाकुर आफू एक्लिएको अनुभव भएको हुन सक्ने ठाकुर निकट एक नेताले जनाए ।

लोसपाका नेताहरूलाई प्रतिगमनकारी ओलीलाई सघाएको कुरोलाई जनप्रतिनिधि र जनताहरूसमक्ष विश्वास दिलाउन गाह्रो भइरहेको छ । जता भए पनि ठिक भन्ने बानी परेका केही नेताहरूको साथ मात्र ठाकुरलाई प्राप्त भएको छ ।

जसपा नेपालमा कुल ५४ जना प्रदेश सभा सदस्य रहेकोमा हालसम्म १२ ले मात्र लोसपाको पक्षमा सनाखत गरेका छन् । कतिपय जनप्रतिनिधिहरूले मोबाइल स्विचअफ गरी बसेका छन् ।

लोसपाका नेताहरूले फोन गरी सनाखत गर्न बाध्य पार्ने हुन कि भनेर उनीहरूले स्विचअफ गरी बसेका हुन् । भदौ २२ गतेसम्म सनाखत गर्ने समय रहेको छ । त्यसैले आफूहरू अलि टाढा बस्न खोजेको उनीहरूको भनाइ रहेको छ ।

पार्टीमा बलियो व्यक्तित्वको पहिचान बनाएकहरूमा नवलकिशोर साह, रामनरेश राय, मनिस कुमार सुमन, सुरेश कुमार मण्डल, बिक्की यादव, प्रमोद साह जस्ता प्रदेश सभा सदस्यहरूले लोसपामा सनाखत नगरी ठाकुर र महतोको साथ छोडेका हुन् ।

नाम नखुलाउने शर्तमा ठाकुरनजिक नेताको भनाइ छ, ”अनुसार ठाकुरजी पनि सम्धीको मायामा सबै गुमाउन पुगेका छन् । महतोको त के कुरा गर्नु र ठाकुरलाई उनीहरूले डुबाएका छन् ।”

प्रतिगमनकारी ओलीलाई समर्थन गर्नेहरुलाई साथ दिन नैतिकताले नमानेको तत्कालीन राजपाका प्रभावशाली नेता नवलकिशोर साहले  बताए ।

आफू विद्यार्थी जीवनकालदेखि नै प्रजातन्त्रको पक्षमा लागेको बताउँदै उनले आफूले अहिलेसम्म सबै आन्दोलनमा शोषित उत्पीडितहरूको पक्षमा लागेको बताए । अहिले ओली प्रतिगमनकारीको पक्षमा वकालत गर्न न सकेका उनले जनाए ।

ओली जस्ता प्रतिगमनकारी, संघीयता र लोकतन्त्र विरोधीहरुको साथ दिन आत्माले नमानेर उपेन्द्र यादव नेतृत्वको जसपाको पक्षमाा हामी उभिएको साहले जनाए ।

लोसपालाई पूर्व राजपाबाट निर्वाचित जनप्रतिनिधिहरू मध्येबाट तीस प्रतिशत पनि जोगाउन गाह्रो भएको छ । प्रयास भने जारी छ ।
लोसपाका नेताहरू भन्छन्, “अवसरवादीहरूको कुरा गराइ के भो र ? यादवको पार्टी टुक्रिन लाग्दै ठाकुरको शरणमा आएका थिए । त्यतातिर लाग्नेको कुरा गर्नु?”

तर जनक चाेकको चौतारामा बस्नेहरूले भन्छन्, “ये पब्लिक है सब जानती है ।”

 



प्रतिक्रिया दिनुहोस !