एकीकृत समाजवादीमा सनाखत गराउन माग गर्दै सर्वोच्चमा रिट
प्रकाशित मिति : 8 September, 2021 7:25 pm
काठमाडौं । नेकपा एमालेका दुई सांसदहरूले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गराउन माग गर्दै रिट दायर गरेका हुन् ।
माधव नेपालको नेतृत्वमा पार्टी दर्ताका लागि निवेदन दिने बेला हस्ताक्षर नगरेका उनीहरूले सनाखत गर्नका लागि पछि निवेदन दिएका थिए। तर निर्वाचन आयोगले उनीहरूको सनाखत गराउन मानेको थिएन ।
समाजवादीमा सनाखत गर्न नपाए र एमाले छाडे सांसद पद गुम्ने भएकोले उनीहरू सर्वोच्च पुगेका हुन् । सर्वोच्चले बिहीबारका लागि पेशी तोकेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी सार्वजनिक गरेका हुन् ।