एमसीसी उपाध्यक्षलाई प्रचण्डको जवाफ,‘राष्ट्रिय सहमतिमा मात्रै एमसीसी अगाडि बढाउन सकिन्छ’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना (एमसिसी)लाई अगाडि बढाउन सकिने बताएका छन् ।
नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँगको भेटघाटका क्रममा प्रचण्डले एमसिसीका सम्बन्धमा अनेकन खालका विवाद र द्विविधा रहेको उल्लेख केही विषयमा संशोधन हुनुपर्छ भन्ने आफूहरुको मत रहेको जानकारी गराए । सुमारको टोली अध्यक्ष प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेको थियो ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले नेपालका सबै राजनीतिक दलबीच साझा सहमतिका आधारमा मात्रै आयोजना अगाडि बढाउन सकिनेमा आफूहरू स्पष्ट रहेको बताएका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । “नेपालका राजनीतिक दलबीचको सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउनुपर्छ भन्नेमा हामी एकमत छौँ”, अध्यक्ष प्रचण्डको भनाई थियो ।
आफूहरूको पाँच दलीय गठबन्धनको बीचमा पनि साझा धारणा बनाएर मात्रै यसलाई अगाडि बढाउने पक्षमा रहेको प्रचण्डको भनाई थियो ।
भेटका उपाध्यक्ष सुमारले नेपालका राजनीतिक दलबीचमा अन्तक्रिया गर्न आफू नेपाल आएको र नेपालका राजनीतिक दलका बीचमा साझा सहमतिका आधारमा एमसीसी अगाडि बढोस् भन्ने आफूहरुको चाहना रहेको उल्लेख गरिन् ।
आयोजनाको उपादेयताका बारेमा जानकारी गराउँदै उपाध्यक्ष सुमारले पारदर्शीपूर्ण छलफलका आधारमा मात्रै अगाडि बढ्न सजिलो हुने बताएकी थिइन् । आफूहरू कुनै पनि दबाब दिने उद्देश्यले नआएकाले यसलाई नियमित भ्रमणका रुपमा बुझ्न प्रचण्डलाई सुमारको आग्रह थियो ।
चारदिने भ्रमणका क्रममा हिजो नेपाल आएकी उपाध्यक्ष सुमारले हिजै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी थिइन् । एमसीसीबारे नेपालमा विवाद भइरहेका बेला उपाध्यक्ष सुमार नेपाल भ्रमणमा छिन् ।