८ माघ २०८१, मंगलबार

विप्लव नेतृत्व नेकपाको चेतावनी,‘एमसीसी पारित भए देशमा आन्दोलनको आगो लाग्छ’

प्रकाशित मिति :  11 September, 2021 1:38 pm


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्टले एमसीसी पारित भए देशमा आगो लाग्ने चेतावनी दिएको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै नेकपाले राष्ट्रियतमाथि ठूलो हमला भइरहेको भन्दै एमसीसी पारित भए देशमा आगो लाग्ने चेतावनी दिएका हुन् । उनले भने,“आगो लाग्छ,आन्दोलनको आगो लागेका बेला के हुन्छ, शासकहरूले हेक्का राखुन् ।”

एमसीसीको विरोधमा देशभर विभिन्न विरोधका कार्यक्रम गर्दै आएको नेकपाले थप आन्दोलन गर्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले एमसीसी पास गर्ने मूर्खता गरिए शेरबहादुर देउवा नेतृत्वको सरकारविरुद्ध प्रतिरोध गरिने चेतावनी समेत दिए । उनले भने,“यो सरकारले एमसीसी पास गर्ने मूर्खता नगर्नु, छोटो समयको सरकार हो यो । यसअघि केपी ओलीले कोसिस त गरेका थिए तर पनि सकेनन् ।”

उनले जनताकै विरोधका कारण अहिलेसम्म एमसीसी पास हुनबाट रोकिएको दाबी गरे । प्रकाण्डले भने,“हाम्रो विरोधले चाहेर पनि शासकले यसलाई पास गर्न सकेका थिएनन् । तत्कालिन शेरबहादुर देउवा सरकारले सुरु गरेको यो सम्झौता ओलीले पनि हाउसमा टेबुल गर्न सकेनन् । यो जनताको विरोधका कारण सफल भएको हो ।”



प्रतिक्रिया दिनुहोस !