मानव बेचबिखनको आरोपमा २ महिला पक्राउ
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई महिला पक्राउ परेका छन् । १६ र १९ वर्षका दुई युवतीलाई बेचबिखनको लागि भारत लानेक्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नरहा नगरपालिका ३ चोहर्वाबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका ११ बेङगरीकी २८ वर्षीया ललिता चौधरी र सिरहा धनगढीमाई नपा १ बाखैरकी ३५ वर्षीय उषा देवी मलाह रहेका छन् ।
उनीहरूले ती युवतीलाई लहान आश्रममा मासिक ५० हजारको दरले काममा लगाइदिने भनी बोलाएर लहान आएपछि अझै राम्रो काम जनकपुरमा पाइन्छ भन्दै ल्याएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
तर उनीहरुलाई बीचबाटो चोहर्वामा नै ओरालेर माडरतर्फ लान ठिक पारेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनामाथि मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला जिल्ला अदालत सिरहाबाट म्याद थप गरी आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको प्रहरीले जनाएको छ ।