८ माघ २०८१, मंगलबार

संसदमा एमालेको अवरोध कायमै, बैठक सञ्चालनको वातावरण बनाउन सभामुख सापकोटाको आग्रह

प्रकाशित मिति :  12 September, 2021 2:01 pm


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक सहज सञ्चालनका लागि वातावरण बनाउन सत्तापक्ष र प्रतिपक्ष दुबैलाई आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवराध जारी राखेपछि सभामुख सापकोटाले बैठक सञ्चालनका लागि सहज वातावरण बनाउन सत्तापक्ष र प्रतिपक्ष दुबैलाई आग्रह गरेका हुन् ।

उनले भने,“फेरि पनि म दोहोराउँछु, तपाईंहलाईं यो बैठक सहज ढंगले सञ्चालन गर्न वातावरण बनाउनका लागि आग्रह गर्छु । सत्ता पक्ष विपक्ष र यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरू, सबै सांसदहरू , सबैलाई वातावरण बनाउन म हार्दिक अनुरोध गर्दछु । विशेषतः अहिले विपक्षी दलका माननीय सदस्यहरूलाई यो वातावरण बनाउनका लागि म हार्दिक आग्रह गर्छु ।”

सभामुख सापकोटाले आफ्नो अधिकारको कुरा गर्दा अरुको पनि सम्मान राख्न एमालेका सांसदहरूलाई आग्रह गरे । उनले भने,“ विश्वव्यापी रुपमा एउटा मान्यता स्थपित छ, त्यो मान्यता के हो भने आफ्नो अधिकारको कुरा गर्दा अरुको अधिकारको कुरा पनि सम्मान गर्नुपर्छ यसकारण म के भन्छु भने अरु सांसदको अरुको जनप्रतिनिधिको आफ्ना भनाईहरू, आफ्ना क्षेत्रका समस्याहरू त्यसै गरी जनताका जल्दाबल्दा समस्याहरू,बाढी पहिरोको समस्याहरू बोल्नका लागि तपाईंहरूले वातावरण बनाइदिन् ।”

नेकपा एमालेले आफूले कारबाही गरेका सांसदलाई सभामुखले संरक्षण गरेको र उनीहरु गैर सांसद भएकाले प्रवेश नदिन माग गर्दै सदन अवरुद्ध गरिरहेको छ । सभामुख सापकोटाले भने आफूले नियम कानुन अनुसार नै सबै निर्णय गरेको पटक पटक आफ्नो धारणा सुनाउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !