निजी कम्पनीको सौर्य बिजुली राष्ट्रिय प्रसारण लाइनमा
तनहुँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले तनहुँको शुक्लगण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण सम्पन्न भएको सोलार फार्म प्रालिको शुभारम्भ गरेपछि सो फार्मबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ ।
सो सोलार फार्मबाट उत्पादित पाँच मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन पुगेको हो ।
निजी क्षेत्रबाट प्रथम विद्युत् बिक्री सम्झौता गर्ने सो कम्पनीको बिजुली बेलचौतारा सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
सो कार्यक्रममा मन्त्री भुसालले सरकारी र निजी क्षेत्रको सहभागितामा ऊर्जाको विकास सम्भव रहेको बताइन् ।
मन्त्री भुसालले राज्यको तर्फबाट सातै प्रदेशमा जलाशययुक्त आयोजना उत्पादन गर्ने निर्णय गरिएको र प्रदेश नम्बर २ मा २०० मेगावाट क्षमताको सोलार आयोजना निर्माण गर्ने निर्णय भएको जानकारी दिए ।
४० लाख जनतालाई लाभ हुने गरी २० युनिटसम्मको बिजुली खपत निशुल्क हुने योजनाबारे जानकारी दिँदै भुसालले यसबाट गरिबी रेखामुनि रहेका घरपरिवारलाई माथि उकास्न मदत मिल्ने विश्वास व्यक्त गरिन् ।
उनले जनतालाई बिजुली चुलोको प्रयोग गर्न आग्रह गरिन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् विकाससम्बन्धी कार्यविधि २०७४’ अनुसार प्राधिकरणसँग पीपीए गर्ने यो पहिलो सौर्य विद्युत् आयोजना हो ।