विवेकशील साझामा राजीनामा स्वीकृतलाई लिएर थप कचिङल,मिश्र पक्ष निर्वाचन आयोग समेत पुग्यो
काठमाडौं । आन्तरिक विवादमा फसेको विवेकशील साझा पार्टीभित्र राजीनामाको विषयलाई लिएर थप कलिचङल भएको छ ।
पार्टीभित्र विवाद चर्कदै गएपछि कतिपय असन्तुष्ट नेताहरूले राजीनामा दिएका थिए । दिइएको राजीनामा पार्टी अध्यक्ष रविन्द्र मिश्रले स्वीकृत गरेर निर्वाचन अयोगलाई समेत जानकारी गराएपछि विवाद थप जटिल बनेको छ ।
पार्टीमा विवाद लगत्तै विवेकशील साझाका सचिवालय तथा केन्द्रीय समितिमा रहेका अनिमेश मिश्र,महेश भण्डारी,सचिन घले र बृतान्त खनालले राजीनामा दिएका थिए । अध्यक्ष रविन्द्र मिश्रले दिइएको राजीनामा स्वीकृत गर्दै इमेल लेखेका थिए ।
अध्यक्ष मिश्रले लेखेको मिश्रले राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै भनेका थिए,“… जिम्मेवारीबाट दिनुभएको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदछु ।”
मिश्रको यो निर्णयप्रति संयोजक मिलन पाण्डे समूहले आपत्ति जनाएको छ । संयोजक पाण्डेले राजीनामा स्वीकृतबारे टिप्पणी गर्दै भनेका छन्,“ प्रिय साथीहरू,आफ्नै साथीहरू गुमाएर संगठन बन्दैन,बन्दै बन्दैन ।”
अध्यक्ष मिश्रले अबैधानिक ढंगले राजीनामा स्वीकृत गरेको पाण्डेको भनाई छ ।
केन्द्रीय सदस्यहरूलाई पठाएको सर्कुलरमा संयोजक पाण्डेले भनेका छन्,“ एकता महाविधेशनको मुखमा रहेको र संक्रमणकालिन रुपमा संयुक्त नेतृत्वमा चलिरहेको पार्टीमा हाम्रो एकीकरण घोषणापत्र र विधानविपरित यसरी अघि बढ्नुले हाम्रो पार्टीको जग भत्किँदैछ, राजीनामा स्वीकृत गर्ने अधिकार अध्यक्ष वा संयोजकलाई छैन,विधानको कुनैपनि धाराले त्यो अधिकार कुनै व्यक्तिलाई दिएको छैन, घरमा आगो लगाएर देश बनाउने गफ दिएको हामीमध्य कसैलाई सुहाउँदैन ।”
पार्टीमा विवाद आएपछि अध्यक्ष मिश्रले आफू पक्षीय सदस्यहरू बोलाएर सचिवालय सदस्य बैठक राखेका थिए । त्यसपछि मिश्रले प्रदेश २ का संयोजक अनिमेशकुमार मिश्र, गण्डकी प्रदेश संयोजक महेश भण्डारीसहित वृत्तान्त खनाल र सचेन घलेको राजीनामा स्वीकृत गरेको जानकारी गराएका थिए ।
मिश्रले राजीनामा स्वीकृत गरेर निर्वाचन आयोगमा पत्र बुझाएपछि थप समस्या जटिल भएको छ । संयोजक पाण्डेले भनेका छन्,“ राजीनामा स्वीकृतिको एजेण्डा केन्द्रीय समितिको वैधानिक बैठकमा समेत नल्याइ,हतार—हतार एकलौटी हिसाबबाट निर्वाचन आयोगमा पत्र बुझाएको कुरा समेत जानकारी पाउँदा निकै दुःखी छु ।”
विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले धर्मनिरपेक्ष र संघीयतामा जनमत संघर्षको प्रस्ताव ल्याएसँगै पार्टीभित्र विवाद सुरु भएको थियो । अध्यक्ष मिश्र र संयोजक मिलन पाण्डेले छुट्टा छ्ट्टै गतिविधि गरिहेका छन् ।
साझा र विवेकशीलबीच पार्टी एकता भएको थियो । अध्यक्ष मिश्रले साझा पार्टी खेमाको नेतृत्व गर्छन् भने संयोजक पाण्डे विवेकशील खेमाको नेतृत्व गर्छन् । तर पार्टी एकता भएको एक वर्ष नपुग्दै चर्को विवाद भएको छ ।