९ माघ २०८१, बुधबार

जसपाले संविधान दिवसमा संशोधनबारे बहस चलाउने

प्रकाशित मिति :  18 September, 2021 6:15 pm


काठमाडौं । जनता समाजवादी पार्टीले संविधान दिवसको अवसरमा असोज ३ गते संविधान संशोधनको आवश्यकतासम्बन्धी अन्तरक्रियाको आयोजना गर्ने भएको छ ।

सरकारले आयोजना गर्ने संविधान दिवसको कार्यक्रममा पार्टीले भाग नलिने जनाउँदै संविधान संशोधनको आवश्यकतासम्बन्धी अन्तरक्रियाको आयोजना गर्ने जनाएको छ।

जसपाले विज्ञप्ति जारी गरी यस्तो जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ“ सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनका लागि उक्त दिन अर्थात असोज ३ गते संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा ‘‘संविधान संशोधनको आवश्यकता’’ विषयक अन्तरक्रिया आयोजना गरी उक्त संविधानमा रहेका विभेदकारी प्रावधानहरुको विरोध गर्न आम जनसमुदाय एवम् सम्पूर्ण पार्टी संगठनहरुलाई आह्वान गरिन्छ ।”

जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मधेश जनविद्रोह लगायतका आन्दोलनहरुको बेलामा सरकारसँग भएका सम्झौताहरु, अन्तरिम संविधानमा भएका प्रावधानहरु, पहिलो संविधान सभामा सर्वसम्मत भइसकेका विषयहरु तथा जनताको अभिमतलाई समेत अनादर र उपेक्षा गर्दै सरकारले जनतामाथि दमन र हत्या गरी जारी गरिएको विभेदकारी, अधुरो, अपुरो एवम् त्रुटीपूर्ण संविधान रहेको जसपाले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !