११ मंसिर २०८१, मंगलबार

काभ्रेका चार स्थानीय तहमा कोरोना सङ्क्रमण शून्य

प्रकाशित मिति :  20 September, 2021 8:43 am


काभ्रे । काभ्रेका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका हुन् भने पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण देखिएको छैन ।

कोरोनामुक्त हुनेमा मण्डनदेउपुर नगरपालिका तथा रोशी, तेमाल र खानीखोला गाउँपालिका छन् । चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक\एक सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डीसीसीएमसी०ले जनाएको छ ।

केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण नपाइएको हो । आइतबार २६ र शनिबार १५ सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

काभ्रेमा छ नगर र सात गाउँपालिका छन् । जिल्लामा हाल १०१ सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ३३, पाँचखालमा १६, धुलिखेलमा १८, पनौतीमा १०, नमोबुद्धमा ११ तथा भुम्लु सात र बेथानचोक गाउँपालिकामा चार सङ्क्रमित रहेको केन्द्रले जनाएको छ ।

केन्द्रअनुसार यसअघि केही दिनको केन्द्रको तथ्याङ्कले सङ्क्रमण दरभन्दा सङ्क्रमणमुक्त दर अधिक रहेको देखाएको हो । जिल्लामा हालसम्म १४ हजार ४६२ मा सङ्क्रमण देखिएकोमा १९२ को मृत्यु भएको छ ।रासस

 



प्रतिक्रिया दिनुहोस !