यादव नभए रायको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने
काठमाडौं ।जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवको नेतृत्वमा पार्टी सरकारमा सहभागी हुने भएको छ ।
अध्यक्ष उपेन्द्र यादव आफै सरकारको नेतृत्वमा नगए रायको नेतृत्वमा पार्टीलाई सहभागी गराइने निर्णय हुन सक्ने पार्टी निकट एक नेताले बताएका छन् ।
सत्ता गठबन्धनको बैठकले सरकार सञ्चालनमा देखिएका समस्या समाधान गर्न र सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिने निर्णयको विषयमा ती नेतासँगको कुराकानीमा उनले यस्तो बताए ।
आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा परिणाम आउनेगरी समाधान खोज्न शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको थियो ।
अध्यादेश फिर्ता भए नभए जसपा सरकारमा सहभागी हुनुपर्ने शीर्ष नेताहरूले निर्णयमा पुगेका छन् ।
पार्टी फुटाएर जसपाका नेताहरूलाई सहभागी नगराउने विश्वास नेपाली कांग्रेसका सभापाति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दिलाए पछि उनीहरू सहभागी हुने निर्णयमा पुगेका हुन् ।
जसपाका नेताहरूले मन्त्री पद पाए मात्र पार्टी फुटाएर जाने र त्यो पनि राजनीतिकरूपमा उनीहरूका लागि प्रत्युत्पादक हुने विश्वास गरेर जसपाका नेताहरूले यस्तो निर्णयमा पुगेका हुन् ।
अध्यक्ष यादवले पार्टीको नेतृत्वमा गए पार्टी संगठनको विस्तार तथा सुसंगठनमा ध्यान दिन नसकिने भएकाले अध्यक्ष यादवले पार्टी संगठनमा ध्यानदिनुपर्ने कतिपय नेताको भनाइ रहेको छ ।
यादव नभए राष्ट्रिय जनता पार्टीका तत्कालीन अध्यक्ष मण्डलका एक प्रभावशाली नेता महेन्द्र राय यादवलाई पठाउँदै सन्तुलित अवस्था हुने पार्टी भित्रका नेताहरूको भनाइ रहेको ती नेताले जनाए ।
असार २९ मा गठबन्धनका तर्फबाट प्रधानमन्त्री बनेका कांग्रेस सभापति देउवाले तीन महिना पुग्न लाग्दा मन्त्रिपरिषदलाई पूर्णता दिन सकेको आलोचना खेप्नु परेको छ ।
गठबन्धनका ५ दल मध्ये जनमोर्चा सरकारमाा सहभागी नहुने पछि बाँडफाँट चार दल बीच हुने भएको छ ।
यसबारे रायसँग कुरो गर्न खोज्दा सम्पर्क हुन सकेन् ।