एनआरएनको अध्यक्षमा बेलायत निवासी आचार्यको उम्मेदवारी
काठमाडौं । गैरआवासीय नेपाली एनआरएनए अध्यक्षमा बेलायत निवासी कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आइतबार उम्मेदबारी घोषणा गरेका आचार्यले विगत केही वर्षदेखि खस्केको संस्थाको गरिमालाई बढाउन अध्यक्षमा उम्मेदवारी दिएको बताए ।
संस्थामा अनियमितता र दुरुपयोगका गुनासो हिजो आज बढ्दै गएको छ आचाार्यले भने त्यसैले आर्थिक अनियमितता र दुरुपयोग रोक्दै यस्ता गुनासो आउने नदिने प्रतिवद्धता व्यक्त गर्छु ।’
उनले कसै पनि दोष लगाउन नचाहेको, तर संघको नेतृत्व तहका केही जिम्मेवार व्यक्तिले संस्थालाई व्यक्तिगत स्वार्थ अनुरुप प्रयोग गरेको आरोप लगाए ।
विवादको विधान सम्वत समाधान खोजेर निर्धारित मितिमा स्वतन्त्र, धाँधलीरहित निर्वाचन गर्नेमा उनले जोड दिए ।
उनले संविधानले एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने भावना स्वीकार गरे पनि नागरिकतासम्बन्धी ऐन नबन्दा अधिकार उपयोग गर्न नपाएको दुखेसो पोखे ।
त्यस्तै गैरआवासीय नेपाली नागरिकता, पासपोर्ट र नेपालमा रहेको पैत्रिक सम्पत्तिको सुरक्षाको प्रत्याभूति हाम्रो प्रमुख माग भन्दै आचार्यले सरकार, संसद र राजनीतिक दलहरुसँग सम्वाद गरी यो समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
आचार्य अघिल्लो निर्वाचनमा अध्यक्ष कुमार पन्तसँग पराजित भएका थिए ।