जग्गा प्राप्तिका लागि कार्यदल गठन,उद्यम विकास कोष सञ्चालन नियमावली संसोधन
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशको राजधानी निर्माण एवं जग्गा प्राप्तिका लागि सरोकारवालासँग छलफल एवं सहजीकरणका लागि पर्यटन तथा शहरी विकास मन्त्रालयको सचिवकोे सयोजकत्वमा कार्यदल निर्माण गर्ने निर्णय गरेको छ ।
आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले स्थायी राजधानी भालुवाङमा जग्गा प्राप्तिका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका निमित्त मे.सु.मा डा.इन्द्र ढकाललाई नियुक्त गरेको छ भने कोभिड अस्पताल सञ्चालनका तथा व्यवस्थापन निर्देशकमा डा. राजेन्द्र ढकाललाई जिम्मेवारी प्रदान गरेको छ ।
रुकुम पूर्वको भुमे, उत्तरगंगा गाउँपालिकाको वडा थपघट, समायोजन र पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका केन्द्र परिवर्तन गर्ने सम्बन्धी प्राप्त प्रस्ताव संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री कृष्णध्वज खड्काले जानकारी दिए ।
यस्तै लुम्बिनी प्रदेशको कृषि विकास सम्बन्धी रणनीतिको परिर्वत गर्ने मस्यौदा तर्जुमा गरी पेश कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्थापन मन्त्रालयलाई निर्देशन दिने, लुम्बिनी प्रदेशको शिक्षा सम्बन्धी प्रादेशिक नीतिको मस्यौदा तर्जुमा गरी पेश गर्न शिक्षा, विज्ञान, युवा खेलकुद मन्त्रालयलाई निर्देशन दिने मन्त्री परिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता खड्काले जानकारी दिए ।
यस्तै उद्यम विकास कोष सञ्चालन नियमावली (प्रथम संशोधन) २०७८ गरी यस भन्दा अगाडि १० लाख रुपैया ऋण प्रदान गर्न सकिनेमा अधिकतम २० लाख रुपैया प्रदान गर्न सकिने गरी संसोधन गर्ने निर्णय गरेको प्रवक्ता खड्काले जानकारी दिए ।