नेकपा एमालेको विधान महाधिवेशन आजदेखि
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजदेखि ललितपुरमा सुरु हुँदैछ ।
असोज १७ गतेसम्म चल्ने महाधिवेशनमा देशभरका झण्डै ८ हजार प्रतिनिधिको सहभागिता रहने नेकपा एमालेले जनाएको छ । ललितपुरको गोदावरीमा हुँदैछ ।
विधान महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा ‘बादल’लेका अनुसार महाधिवेशनको बन्द सत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।
विधान महाधिवेशनमा पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख सहभागि हुने छन् ।
त्यस्तै पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेशागत संगठनबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघ संगठनबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधानबमोजिम मनोनित सदस्य प्रतिनिधि रहने नेकपा एमालेले जनाएको छ ।