विप्लव नेतृत्वको नेकपाका तत्कालीन इलाम जिल्ला इन्चार्ज रिहा लगत्तै पक्राउ
इलाम । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी इलामका पूर्व जिल्ला इन्चार्ज अदालतबाट रिहा लगत्तै पक्राउ परेका छन् ।
५ लाख रुपैयाँ धरौटी बुझाएर अदालतबाट रिहा हुनेबित्तिकै पूर्वजिल्ला इन्चार्ज पुष्प कोइरालालाई प्रहरीले फेरि पक्राउ परेका हुन् । उनीमाथि अर्को मुद्दा रहेको भन्दै प्रहरीले पक्रेको हो।
२०७७ वैशाख २२ मा पक्राउ परेका कोइरालामाथि विस्फोटक पदार्थ, एनसेल टावर आक्रमणलगायतका मुद्दा थियो । अदालतले तोकेको ५ लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा कोइराला कारागारमा थिए ।
धरौटी बुझाएपछि कोइरालालाई रिहा गरिएको जिल्ला अदालतका स्रेस्तेदार फणीन्द्र भट्टराईले जानकारी दिए। तर रिहा लगत्तै कोइरालालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई संखुवासभा लैजाने तयारी छ ।
गत फागुन २१ मा तत्कालीन केपी शर्मा ओली सरकार र विप्लवबीच ३ बुँदे सहमति भएको थियो।
सहमतिमा नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको भनिएको छ । अझै आफ्ना नेता कार्यकर्ता रिहा नभएको भन्दै नेकपाले असन्तुष्टि जनाउँदै आएको छ ।