काट्न थालियाे इन्टरनेटको तार, काट्नेमाथि कार्वाही गर्न प्राधिकरणको माग, व्यवसायी आन्दोलित
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभरका इन्टरनेटको तार काट्न थालेको छ । इन्टरनेट सेवा प्रदायकसँगको भाडा बिवाद सुल्झाउने प्रक्रिया चलिरहेकै अवस्थामा शनिवारदेखि विद्युतको पोलबाट जोडिएका तार काट्न थालिएको हो ।
सनिबार भरतपुर, बुटवल, काठमाडौँ, विराटनगर, धरान, धनकुटा, ताप्लेजुङ्ग, खाडीचौर, धनगढी लगायतका देशका मुख्य मुख्य ठाउँहरुमा इन्टरनेटको तार काटिएकोमा इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले विरोध जनाएको छ ।
अति आवश्यक सेवामा पर्ने इन्टरनेट सेवालाई अवरोध पुग्ने गरी इन्टरनेट सेवा प्रवाह गरिरहेको फाईबर(तार काटिनु प्राधिकरणको गैर कानुनी क्रियाकलाप भएको आइस्पानको ठहर छ ।
सनिबार नै प्रेस विज्ञप्ति जारी गर्दै विरोध गरेको हो । देखिएको समस्या समाधानका लागि काम भइ नै रहेको अवस्थामा एकतर्फ निर्णय गर्दै तार काट्न थालेकोमा आपत्ति जनाइएको हो ।
भरतपुर र विराटनगरमा मुख्य मुख्य ठाउँको इन्टरनेट सेवा प्रवाह गरिरहेको फाईबर तार छानी छानी काटेको जनाइएको छ । त्यहाँका इन्टरनेट व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
“अहिलेको समयमा देशका विभिन्न भागमा पनि इन्टरनेट सेवा प्रवाह गर्न हामीलाई हम्मेहम्मे परिरहेको अवस्था छ, वर्तमान कोभिड(१९ को महामारीमा अनलाईन शिक्षा, बैङ्किङ्ग, रोजगारी, स्वास्थ्य, विमान स्थल जस्तो संवेदनशिल क्षेत्रलाई जोडेको इन्टरनेटलाई अवरोध गर्ने विद्युत प्राधिकरणको क्रियाकलापहरु अक्षम्य रहेको छ,” विज्ञप्तिमा भनिएको छ, “यो अवस्था सृजित गर्ने विद्युत प्राधिकरण नै सबै घटनाको कारक तत्व, कारण र जिम्मेवारी लिनु पर्ने अक्षमय निकाय भएको पनि ग्राहक महानुभावहरुमा जानकारी गराउदछौँ ।”
विद्युत प्राधिकरणले असोज १५ गतेसम्म पोलको भाडा नतिरेमा तार काट्ने चेतावनी दिंदै आएको थियो । इन्टरनेट सेवा प्रदायकहरुले भने अत्यधिक रुपमा पोलको भाडा बढाइएकाले घटाउनुपर्ने माग राख्दै आएका थिए ।
प्राधिकरणले सात गुणासम्म भाडादर वृद्धि गरेको छ । आवश्यक छलफल चलिरहेकै अवस्थामा तार काट्न थालिएकाले इन्टरनेट सेवा बन्द भएमा त्यसको दोषी विद्युत प्राधिकरण हुने आइस्पानका अध्यक्ष सुधिर पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
यसैबीच टेलिकम क्षेत्रको नियमनकारी संस्था नेपाल दुरसंचार प्राधिकरणले तार काटिनु गलत रहेको भन्दै यस्तो कार्यमा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरेको छ । सनिबार नै सूचना जारी गर्दै यस्तो जनाएको हो ।