६ आश्विन २०८१, आइतबार

कोभिड पछिको वैश्विक अर्थतन्त्रका लागि अर्को ऊर्जा संकट

प्रकाशित मिति :  3 October, 2021 2:39 pm


काठमाडौं । विश्व अर्थतन्त्रलाई ध्वस्त पारेको कोभिड–१९ वैश्विक महामारी पछि वैश्विक ऊर्जा आपूर्तिको संकट आउन लागेको विश्वका विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् ।

विश्वभर ऊर्जा आपूर्तिको संकटले पेट्रोलियम पदार्थको मूल्य प्रति ब्यारल १०० अमेरिकी डलर भन्दा बढी पुग्ने र यसले वैश्विक अर्थतन्त्रमा अर्को संकट थप्ने बैंक अफ अमेरिकाले चेतावनी दिएको छ ।

यो वर्षको चिसो मौसम सुरु हुने बेला प्राकृतिक ग्यासको माग बढ्दा त्यसको भाउ बढ्ने भएको हो ।

पेट्रोलियम पदार्थको मूल्यमा हुने सम्भावित वृद्धिले उच्च स्फीतिको चाप बढाउने छ ।

ब्लुम्बर्गका विश्लेषकहरूले गरेको अध्ययनका आधारमा यो संकट विश्व अर्थतन्त्रलाई पर्ने भएको हो ।

बहुराष्ट्रिय कम्पनीहरूका अनुसार ग्यासदेखि तेलसम्म प्राकृतिक ग्यासको मूल्य रेकर्डरूपमा उच्च हुने छ । तेलको मागमा थप वृद्धि हुन गइ मूल्य वृद्धि हुने विश्लेषकहरूको कथन छ ।

चिसोको मौसमा सामान्यरूपमा हुने ऊर्जाको माग अपेक्षितरूपमा बढ्ने छ । यसै बेला अन्तर्राष्ट्रिय पर्यटन क्षेत्र विस्तारका लागि अन्तर्राष्ट्रिय हवाई क्षेत्र फेरि खुल्ने तयारी भइरहेको छ ।

अन्तर्राष्ट्रिय हवाई सेवा फेरि सुरु भए जेट इन्धनको माग बढ्ने छ । जेट इन्धनको मागले जेट इन्धनको भाउ वृद्धि गराउँछ ।

“ यी सबै तत्वहरू एकसाथ आएमा तेल मूल्यको वृद्धि गराउने र स्फीति चापको दोस्रो चरण आउने” विश्लेषकहरूले जनाएका छन् ।

यसले बृह्त अर्थतन्त्रका लागि आँधी ल्याउने छ ।

बैंक अफ अमेरिकाले कच्चा तेलको मूल्य संकटको अर्को कार्ड हुने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !