९ माघ २०८१, बुधबार

विप्लव नेतृत्वको नेकपाद्वारा तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

प्रकाशित मिति :  4 October, 2021 12:42 pm


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै प्रधामन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमति भएपछि नेकपा खुल्ला राजनीतिमा आएको थियो । तर अझैपनि तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेकपाका प्रवक्ता प्रकाण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

प्रधानमन्त्री देउवालाई बुझाईएको ज्ञापन पत्रमा भनिएको छ,“सहमति कार्यन्वयन सम्बन्धी सरकार र पार्टीबीच भएको सकारात्मक छलफलले जनतामा उत्साह पैदा गरेको थियो । त्यसको पनि झण्डै ६ महिना वित्न थाल्यो ।

यसले थुप्रै प्रश्न र आशंका जन्माउन थालेको छ । आजका मितिसम्म बन्दी नेता कार्यकताहरू रिहा नहुनु र मुद्दा खारेज नहुनुले हाम्रो पार्टी, बन्दी नेता कार्यकर्ताहरू, उहाँका परिवारजन र नेपाली जनतामा आक्रोस र चिन्ता पैदा भएको छ । यो विषयलाई गम्भिरताका साथ लिन जरुरी छ ।”

नेकपाले आफू तीन बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको प्रष्ट पारेको छ । ज्ञापनपत्रमा भनिएको छ,“हाम्रो पार्टी तीन बुँदे सहमतिप्रति पूर्ण प्रतिवद्धता सहित अक्षरसः लागु गरिराखेको छ र गर्ने छ । आशका, अविश्वास, मनोवैज्ञानिक दबाव र ढिलासुस्तीको कुनै गुन्जायस छैन ।”

नेकपाले तीन बुँदे कार्यान्वयनका लागि विशेष कार्यदलको माग गरेको छ । प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ,“ यो राष्ट्रिय राजनीतिक मुद्दा हो । यसर्थ विषयको गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गरी वन्दी रिहा र मुद्धा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटो भन्दा छिटो निरुपणको अपेक्षा गर्दछौं ।”

केपी ओली नेतृत्वको सरकार र नेकपाबीच तीन बुँदे सहमति भएको यही असोज २१ गते ६ महिना पुग्दै छ ।



प्रतिक्रिया दिनुहोस !