९ माघ २०८१, बुधबार

मन्त्रिपरिषद् विस्तारमा प्रधान न्यायाधीसको संलग्नताबारे सर्वोच्च अदालतद्वारा खण्डन

प्रकाशित मिति :  4 October, 2021 2:45 pm


काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा प्रधान न्यायाधीसको संलग्नता रहेको भन्ने समाचारप्रति सर्वोच्च अदालतले खण्डन गरेको   छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले विज्ञप्ति जारी गर्दै प्रकाशित समाचार दुःखद् र खेदजन्य विषय भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,“ संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई असान्दर्भिक रुपमा जोडेर अतिरन्जित एवं भ्रामक समाचार प्रकाशन हुन अत्यन्तै दुःखद् र खेदजन्य विषय हो ।”

नेपालको संविधानबमोजिम स्वतन्त्र,स्वायत्त एवं संवेदनशीलताकासाथ क्रियाशील रहनुपर्ने संस्था र त्यसको नेतृत्वप्रति कुत्सित मनसाय राखी लान्छित गर्नु अत्यन्त दुःखद अवस्था भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,“ सम्माननीय प्रधान न्यायाधीशज्यूबाट नेपालको संविधानबमोजिम न्यायपालिकालाई स्वतन्त्र,निष्पक्ष र सक्षम बनाउने विषयमा आफ्नो स्पष्ट प्रतिबद्धता रहेको धारणा विभिन्न समयमा व्यक्त हुँदै आएको स्मरण गराउँदै सर्वोच्च अदालतको अमुक फैसलासमेतका सन्दर्भ जोडी यसप्रकारका समाचारहरू आउनु अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकुल प्रभाव पार्ने दुषित मनासय बाहेक अरु केही हुनसक्दैन ।”



प्रतिक्रिया दिनुहोस !