९ माघ २०८१, बुधबार

मन्त्रिमण्डल विस्तारमा न्यायलयलाई भागबण्डा गरियो भन्नु गलतः प्रचण्ड

प्रकाशित मिति :  9 October, 2021 1:02 pm


फाइल फोटो

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तारमा न्यायलयलाई भागबण्डा गरियो भन्नु गलत भएको दाबी गरेका छन् ।

चितवनमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले गजेन्द्र हमाललाई कांग्रेसको कोटाबाट मन्त्री बनाइएको बताए । अध्यक्ष प्रचण्डले यो विषयमा होहल्ला गर्नु आवश्यक नरहेको टिप्पणी गरे । उनले भने, “कांग्रेसको आफ्नै मान्छे हो, आफ्नै कोटामा ल्याइसकेपछि यता हो र त्यता हो भन्नुको कुनै तुक छैन ।” सांसद नभएको व्यक्तिलाई मन्त्री बनाउन मिल्ने व्यवस्था संविधानमै भएको उल्लेख गरे ।

“यसभन्दा अगाडि पनि सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइने गरेको छ”, उनले भने , “यो नयाँ कुरा होइन ।” अध्यक्ष दाहालले पहिलो पटक प्रतिनिधिसभाको विघटन हुँदा सेटिङसेटिङ भन्ने चर्चा भएको उल्लेख गर्दै मानिसलाई त्यही भन्न मन लागेर भनेका होलान, तर यहाँ सेटिङ छैन भने ।

“सरकार कोभिडविरुद्धको खोपको व्यवस्थापन गर्नमा लागेको छ”, उनले भने , “जनताको जीवनरक्षा गर्ने सरकारको पहिलो प्राथमिकता हुन्छ ।” अध्यक्ष प्रचण्डले आफूहरुले सुरुदेखि नै खोपखोप भन्दै आएको बताउँदै खोपको व्यवस्थापन र जनतालाई राहत दिने कुरा प्राथमिकतामा पर्ने धारणा राखे । उनले विकास निर्माणसँग सम्बन्धित कुरालाई अगाडि बढाउने र थाती रहेका विधयेकलाई अगाडि बढाउने कुरा पनि सरकारको प्राथमिकतामा पर्ने जानकारी दिए ।

लिपुलेक, कालापानी, लिम्पियाधुराको विषय हिजो पनि केपीको कर्म नभएर आफूहरुको कर्म भएको बताउँदै प्रचण्डले भने,“लिम्पियाधुरा, कालापानीको विषय उठाएर संसद्मा लानुपर्छ भन्ने हामी थियौँ । अहिले पनि सरकारको साझा नीति कार्यक्रममा समावेश गरेका छौँ ।”

अध्यक्ष दाहालले राष्ट्रिय सहमति र परिमार्जनविना एमसिसी पास नहुने स्पष्ट पारे । उनले भने , “राष्ट्रिय सहमति र परिमार्जनविना यो पास हुन सक्दैन ।”

संसद् अवरुद्ध गर्ने नैतिक र राजनीतिक अधिकार प्रतिपक्षलाई नरहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, “पटकपटक संसद् विघटन गर्नेलाई विरोध छ भने जनतामा गए भयो ।” संसद् अवरोधमा कुनै तर्क र तथ्य नरहेको बताएका राससले उल्लेख गरेको छ ।

फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा चितवन जस्तो जिल्लामा गठनबन्धन भएर जाने बए । उनले भने “चितवन जस्तो जिल्लामा हामी समझदारीका साथ निर्वाचनमा जान्छौँ ।”



प्रतिक्रिया दिनुहोस !