मन्त्रिपरिषद्मा समेट्न नसकेका योग्य साथीलाई उचित जिम्मेवारी दिइनेछ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा समेट्न नसकेका योग्य र क्षमतावान् पार्टीका साथीलाई उचित जिम्मेवारी दिने आश्वासन दिएका छन् ।
स्कूल अफ डेमोक्रेसी, अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वरप्रसाद कोइरालाः शताब्दी सन्दर्भ’ पुस्तकको आज विमोचन गर्दै प्रधानमन्त्री देउवाले हिजोको मन्त्रिपरिषद् विस्तारमा योग्य साथी छुटेकामा आफूलाई दुःख लागेकोसमेत बताए ।
क्षमतावान् र योग्य साथीलाई आगामी दिनमा उचित जिम्मेवारी दिँदै जाने बताउँदै उनले आफ्नो बाध्यता बुझिदिन आग्रह गरे ।
सांसद मीन विश्वकर्माले बीपी कोइराला, प्रजातन्त्र र कांग्रेस एक अर्काका परिपूरक भएको बताउँदै जनतालाई प्रजातन्त्रको अर्थ, महत्व र अभ्यासका बारेमा बुझाउनुपर्ने आजको आवश्यकता भएको बताए ।
राष्ट्रियसभाअन्तर्गत दिगो विकास समितिका सभापति तारादेवी भट्टले संयुक्त राष्ट्र सङ्घले हाल अघि बढाएको दिगो विकासको लक्ष्य बीपी कोइरालाले आफ्नो समयमा परिकल्पना गरेको सिद्धान्त र विचारसँग मिल्दोजुल्दो भएको बताए । रासस