९ माघ २०८१, बुधबार

लगानी बोर्डद्वारा ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति

प्रकाशित मिति :  9 October, 2021 2:32 pm


काठमाडौं ।  लगानी बोर्डको ४८औं बैठकले दुई जलविद्युत परियोजनको निर्माण तथा विकास गर्न  ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति तथा पुँजी वृद्धि गर्न अनुमति प्रदान गरेको छ ।

बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री  शेरबहादुर देउवाको अध्यक्षता  बसेको बैठकले दोलखामा रहेको ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत परियोजनाका लागि १०.५ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ । त्यस्तै संखुवासभा जिल्लामा अवस्थित हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत परियोजनामा ६२.२६ अर्ब रुपैयाँको पुँजी वृद्धि स्वीकृति प्रदान गरेको छ ।

यस्तै बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सन्दर्भमा अध्ययन गरी ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन बोर्डसमक्ष पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्त्वमा एक उच्च–स्तरीय अध्ययन समिति गठन गरेको छ ।

समितिमा अर्थ मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र एक विज्ञ सदस्य रहेका छन् भने लगानी बोर्ड कार्यालयका सहसचिव सदस्य सचिव तोकिएको    छ ।

बैठकले लगानी बोर्डको आ.व. २०७८/०७९ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, सम्राट सिमेन्ट र माथिल्लो त्रिशुली–१ जलविद्युत परियोजनाको शेयर खरिद विक्री सम्झौता स्वीकृत गर्ने लगायतका निर्णयहरु गरेको छ ।

बैठकमा प्रधानमन्त्री देउवाले विद्युत खपत वृद्धि गर्ने सम्बन्धि दिर्घकालीन योजना तय गर्दै लगानीको वातावरण बनाउन र छिटोछरितो रुपमा कार्यसम्पादन गर्न सबै निकायलाई निर्देशन दिएका बोर्डका प्रवक्ता सुरेन्द्र पौडेलले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस !