उद्योग मन्त्री हमालले तीन दिनमै दिए राजीनामा,प्रधानमन्त्रीद्वारा स्वीकृत
काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले तीन दिनमै राजीनामा दिएका छन् ।
प्रधानन्यायाधीसको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि हमालले मन्त्री बनेको ३ दिनमै आज राजीनामा दिएका हुन् । हमालको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन् । हामालले शुक्रबारमात्रै पद तथा गोपनीयताको सपथ लिएका थिए ।
प्रधानमन्त्री देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेको र सोही अनुरोध स्वीकार गर्दै हमालले पदबाट राजीनामा गरेको प्रधानमन्त्रीको संसदीय दलका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिए ।
विभिन्न सञ्चारमाध्यममा आएका समाचार र कानुनविद्ले प्रश्न उठाएपछि हमालले पदबाट राजीनामा गरेको जोशीले बताए । आफू लामो समयदेखि नेपाली कांग्रेसका विभिन्न पदमा सक्रिय रही बाँकेको पार्टी सभापतिसमेत भएर काम गरेकाले सोहीअनुसार मूल्याङ्कन गरी प्रधानमन्त्रीले आफूलाई मन्त्री पदमा नियुक्ति गरेको हमालले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
विभिन्न सञ्चारमाध्यममा सम्प्रेषित समाचार तथा कानुनविद्ले आफ्नो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौँसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायबीच शक्ति पृथकीकरणको सिद्धान्तका लागि लडेको लडाइँको समेत अवमूल्यन भएको वोध भएको पत्रमा उल्लेख छ ।
आफ्नो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेपछि पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशङ्काकै बीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेको भन्दै मन्त्री हमालले पदबाट राजीनामा दिएको जनाएका छन् ।