६ आश्विन २०८१, आइतबार

पूर्व अफगानी राष्ट्रपतिले झोलाभरी डलर लगेको आफूसँग भिडियो भएको पूर्व अंगरक्षकको दाबी

प्रकाशित मिति :  10 October, 2021 1:47 pm


काठमाडौं । अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ गनीले झोलाभरी अमेरिकी डलर लगेको भिडियो आफूसँग रहेको उनका पूर्व अंगरक्षकले दाबी गरेका छन् ।

अफगानिस्तानको राजधानी  काबुल तालिबानले कब्जामा लिइरहने बेला अमेरिकी समर्थन प्राप्त गनीले राष्ट्रपति भवन छोडी देशबाहिर भागेका थिए । संयुक्त अरब इमिरेट्स पुगेर आफूले झोलाभरी अमेरिकी डलर लिएर नभागेको भनी सो आरोपको खण्ड गरेका थिए ।

गनीले सो आरोप खण्डन गरेको केही समय पछि उनका अंगरक्षकले बेलायती अखबारलाई सो भिडियो आफूसँग भएको दाबी गरेका छन् ।

बेलायती दैनिक अखबार डेली मेलसँग कुराकानीमा ब्रिगेडियर जेनरल पिराज अता शरिफीले भने “ मसँग भएको रेकर्डिङमा एक जना व्यक्ति अफगान बैंकबाट धेरै पैसा लिएर गनी समक्ष लिएर आएको देखिन्छ ।सम्भवतः अर्बौ डलर थियो । धेरै ठूला झोलाहरू थिए र ती झोलाहरू भारी थिए । त्यसमा चामल त थिएन ।”

दोहा पुगेर गनीले पत्रकार सम्मेलन गरी आफूले थप रक्तपात हुन नदिनका लागि त्यहाँबाट भागेर यहाँ आएको तर पैसा लिएर नभागेको बताएका थिए ।

गनीले पैसा लिएर भागेको खबर काबुलस्थित रुसी दूतावासले सार्वजनिक गरेको थियो । सो सूचनामा चार कार र एक हेलिकप्टर भरी नगद लिएर भागेको जनाइएको थियो ।

ताजिकिस्तानमा रहेको अफगानी दूतावासले देशको १० करोड ९० लाख अमेरिकी डलर बराबरको सम्पत्ति गनीबाट फिर्ता ल्याउन उनलाई गिरफ्तार गर्नुपर्ने बताएको थियो ।

गनीको सुरक्षा आफ्नो जिम्मेवारी भएको बताउँदै उनले गनी भागे र म छुटेको भने ।

गनीले चोरेको रुपैयाँ मुद्रा बजारमा परिवर्तन गरेको हुन सकेको उनले जनाए । गनीले सबै कुरो थाहा भएको र उनले सबै धन लिएर भागेको हुन सक्ने उनको भनाइ छ । गनी र उनका सहयोगहरू भएको फुटेजलाई आफू हतारमा सार्वजनिक गर्न नचाहेको बताउँदै उनले त्यो फुटेज बेलायती भूमिको कुनै ठाउँमा सुरक्षित रहेको बताए ।

हाल सरिफी अफगानिस्तानको कुनै ठाउँमा लुकि बसिरहेका छन् । आफूलाई तालिबानीहरूलो खोजिरहेका छन् । अफूलाई समात्न १४ हजार अमेरिकी डलर बराबरको रकम पुरस्कार घोषणा गरेको उनले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !