९ माघ २०८१, बुधबार

नेकपा (एकीकृत समाजवादी)को लक्ष्य,‘एक वडा, एकसय सङ्गठित सदस्य र एक हजार पार्टी सदस्य’

प्रकाशित मिति :  17 October, 2021 3:44 pm


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी तीन महिनाभित्र वडा तहसम्म संगठन निर्माण गरिसक्ने लक्ष्य राखेको छ ।

आन्तरपार्टी निर्देशन जारी गर्दै नेकपा एकीकृत समाजवादीले आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर,नगरपालिका, गाँउपालिका तथा सबै वडाहरूमा पार्टी कमिटीहरू गठन गरिसक्न मातहतका निकायलाई भनेको छ । त्यस्तै त्यसैगरी जनसंगठनहरूका कमिटी पनि गठन गर्ने अपानीमा उल्लेख छ ।

अन्तरपार्टी निर्देशन अनुसार सबै कमिटीहरूले तीन महिने कार्ययोजना बनाई सोही अनुसार कार्य गर्नुपर्ने र आफ्नो तहमा कार्यकर्ता भेला सम्पन्न गर्नुपर्ने छ । सबै पार्टी कमिटी तथा जन सँगठनहरूले ठोस योजना बनाई आआफ्नो तहको प्रशिक्षण कार्यक्रमहरू सम्पन्न गर्न पनि अपानीमा भनिएको छ ।

कार्यकर्तालाई सबल बनाउनका लागि दिइने प्रशिक्षणमा सैद्धान्तिक, राजनीतिक तथा संगठनात्मक ज्ञानका सूचनाहरू प्रदान गर्न नेकपा एकीकृत समाजवादीले भनेको छ ।

यस चरणमा मूलतः पार्टी दस्तावेजहरूको अध्ययन गर्ने गराउने,कम्युनिष्ट आन्दोलनमा हावी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रबृत्तिहरूको भण्डाफोर गर्ने,पार्टीका नयाँ नीतिहरूबारे कार्यकर्ताहरूलाई आम रूपमा जानकारी गराउने,विद्रोहको बाध्यकारी परिस्थिति किन आयो भन्ने तथ्य प्रमाणहरू प्रस्तुत गर्ने भनिएको छ ।

देशको राजनीतिक शक्ति सन्तुलनमा पार्टीको उपस्थितिको औचित्य र महत्वको बारेमा प्रकाश पार्ने र देशको संविधान तथा लोकतन्त्रको रक्षा र अग्रगमनको लागि हामीले गरेको प्रयास र सफलताको चर्चा गर्ने तथा पार्टीका क्रान्तिकारी विचार तथा कम्युनिष्ट आदर्शहरूको रक्षा, पुनर्जागरण र राष्ट्रियता, जनवाद, जनजीविका, सामाजिक न्याय र समानता तथा वर्ग पक्षधरताका विषयहरूमा कार्यकर्ताहरूलाई उत्प्रेरित गर्नका लागि प्रशिक्षण केन्द्रित गर्ने अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।

पार्टी सदस्यता नविकरण र वितरण

नेकपा एकीकृत समाजवादीले पहिले नेकपा (एमाले) को सङ्गठित सदस्यताको लिस्ट प्राप्त गर्ने र सङ्गठित सदस्यता प्राप्त गरेको पुरानै मितिलाई कायम राखी नवीकरण गर्न भनेको छ ।

यस्तो नवीकरण गर्दा विगत वर्षको सदस्यता शुल्क र लेवी अनिवार्य नगरी स्वेच्छिक सहयोगका रूपमा प्राप्त गर्न सकिने र मापदण्ड पुरा गरेका व्यक्तिहरूलाई प्रक्रिया पूरा गरेर व्यापक रूपमा नयाँ संगठित सदस्यता वितरण गर्न पनि नेकपा एकीकृत समाजवादीले अपानीमा उल्लेख गरेको छ ।

हाल पार्टी र जनसङ्गठनका विभिन्न कमिटीमा सङ्गठित हुनुभएका सबै व्यक्तिहरूलाई पार्टी सदस्यता प्रदान गरिहाल्ने र आगामी तीन महिनाभित्र थप कति सदस्य बनाउन सकिन्छ भन्ने योजना बनाई कार्य गर्ने अपानीमा उल्लेख छ ।

सदस्यताको अभिलेख व्यवस्थित रूपमा खाता तथा डिजिटल माध्यममा राख्ने र मंसिर मसान्तभित्र पुरानो सदस्यता अभिलेख व्यवस्थित गरिसक्ने भनिएको छ ।
‘एक वडा, एकसय सङ्गठित सदस्य र एक हजार पार्टी सदस्य’ निर्माण गर्ने अभियान सञ्चालन गर्ने अपानीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !