लुम्बिनी प्रदेश सभा भवन निर्माणमा ढिलाइ,ठेकदारलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन
‘ठेकदार कम्पनीलाई कालो सूचीमा राखेर सञ्चालकलाई थुन्नुस्’
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले लुम्बिनी प्रदेश सभा भवन निर्माणमा ढिलाइ भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
उनले ठेकदारलाई ६ महिना थुन्न र कम्पनीलाई कालो सूचीमा राख्न निर्देशन दिएका छन् । हिजो लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी पुगेका सोनामले भने,“सिडियो साप ! यो ठेकदारलाई सार्वजनिक अपराध अन्तर्गत ६ महिना भित्र हाल्दिनुस् र तुरुन्त कम्पनीलाई कालो सूचीमा राख्न प्रकिया अगाडि बढाउनुस् ।”
भदौको दोस्रो हप्ता नै सकिनुपर्ने प्रदेश सभाको भवनको प्रगति २० प्रतिशतको हाराहारीमा मात्रै छ । सरकारी अधिकारीहरूले ठेकदार सम्पर्कमै नआउने, फोन नउठाउने गरेर हैरान बनाएको गुनासो गरेका थिए । मुख्यमन्त्री केसी देउखुरी भ्रमणमा गएका बेला मुख्य ठेकदार सम्पर्कमा नआएर प्रतिनिधि मात्रै पठाएको थियो ।
ठेकदार कम्पनीको प्रतिनिधिले भवन तयार गर्न अझै तीन महिना लाग्ने भनेपछि तत्काल ठेक्का तोड्न र नयाँ प्रक्रिया सुरु गर्न मुख्यमन्त्री केसीको निर्देशन थियो ।
मुख्यमन्त्री केसीको आक्रोश थियो,“यो ठग रैछ, हामीले यहाँ कारबाही गरेनौं भने देशभर यस्तै ठग्दै हिँडछ । सिडियो साप ! यसलाई तत्काल कारबाहीको प्रक्रिया अगाडी बढाउनुस् ।”
मन्त्रीमन्त्री केसीले निर्देशन दिइरहँदा दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ पनि सँगै थिए ।
सरकारी अधिकारीहरूले समेत ठेकदारले आफूलाई आजित बनाएको बताएका थिए । बस्नेत निर्माण सेवाले भवनको ठेक्का पाएको थियो । झण्डै ६ करोड रुपैयाँ खर्चमा निर्माण गर्न लागिएको भवनमा निर्माण कम्पनीले लापरबाही गरेपछि मुख्यमन्त्री केसी आक्रोशित भएका हुन् ।