वर्षाले क्षति पुर्याएको क्षेत्र र नागरिकको समस्या सम्बोधन गर्न मुख्यमन्त्री केसीको निर्देशन
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले ३ दिनदेखि परेको अविरल वर्षाका कारणले लुम्बिनी प्रदेशमा मानवीय एवं धनजन क्षतिको लागत संकलन गरी राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला निकायलाई मुख्यमन्त्री केसीले निर्देशन जारी गरेका हुन् ।
बुधबार विहानै लुम्बिनी प्रदेशको वर्दियाको राजापुर र गेरुवा गाउँपालिका लगायत प्रदेशभर बाढी, पहिरो, लगायतबाट जनधनको क्षति भएको उल्लेख गर्दै मुख्यमन्त्री केसीले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक राम शर्मालाई राहतको प्याकेज लिएर प्रभावित क्षेत्रमा जानका लागि निर्देशन दिएका छन् ।
मुख्यमन्त्री केसीले बर्दिया, बाँके लगायतको अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पनि नियमित रिपोर्टिङ् गर्नका लागि निर्देशन दिएका छन् ।
आन्तरिक मामिला तथा गृहमन्त्री तिलकराम शर्मासँग भनेका छन्,“ नागरिकको जनधनको रक्षा गर्ने पहिलो प्राथमिकता सरकारको हो तसर्थ तपाईले समन्वय गरेर तुरुन्त बर्दिया जिल्लामा जानुहोस् । अन्य निकायसँग समन्वय गर्नुहोस् । प्रदेशमा सबैभन्दा बढी कर्णालीको बाढीले समस्या बनाएको छ ।”
मुख्यमन्त्री केसीले राहत तथा उद्धारको लागि संघीय सरकारकासँग पनि कुरा भइरहेको बताउँदै नागरिकको जीवन सुरक्षा नै पहिलो कतव्र्य भएकाले अगाडि त्यसै अनुसार काम गर्न भनेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले जानकारी दिए ।
मुख्यमन्त्री केसीले नागरिकलाई आवश्यक पर्ने खाद्यन्न र जीवन सुरक्षा सहित आपतकालीन राहतको व्यावस्था अहिले गर्ने, पछि जिल्ला प्रशासन कार्यालय र स्थानीयबहबाट आएका निवेदनका आधारमा राहात प्रदान गर्न सकिने बताएका छन् ।
यस्तै छलफलमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री शर्माले आफूले क्षतिको बारेमा स्थलगत अध्ययन गरेर मुख्यमन्त्रीलाई जानकारी गराउने प्रविद्धतासहित आफू बाढी पहिरो प्रभावित क्षेत्रतर्फ लागेको जानकारी दिए ।