सिके राउत विरूद्ध कर्मचारीहरूद्वारा काठमाडौंमा प्रदर्शन
प्रकाशित मिति : 22 October, 2021 4:53 pm
काठमाडौं । सिके राउतको जनमत पार्टीका कार्यकर्ताहरूले जनकपुरका कर्मचारीलाई भ्रष्टाचारी भनी अर्धनग्न गरी जुलुशमा घुमाएर प्रताडना दिएको विरोध गर्दै राजधानी काठमाडौं र जनकपुर दुवै ठाउँमा विरोध प्रदर्शन गरिएको छ ।
नेपाल ईन्जिनियर एशोसिएशन बागमती प्रदेश, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन लगायतले जनमत पार्टीको विरोधमा प्रदर्शन गरेका हुन् ।
सिके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले बिहीबार खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न बनाइ हिलो छ्यापी नगर परिक्रमा गराएका थिए ।
त्यसको विरोधमा शुक्रबार राजधानीको माइतीघर मण्डलामा कर्मचारीहरूले प्रदर्शन गरेका हुन् ।
यसैगरी जनकपुरमा पनि कर्मचारीहरूले जनमत पार्टीका कार्यकर्ताहरूले भ्रष्टाचार गरेको भनी कर्मचारीलाई प्रताड्ना दिएको विरोधमा प्रदर्शन गरे ।