११ मंसिर २०८१, मंगलबार

बेमौसमी वर्षा : गुल्मीमा डेढ करोडको धान क्षति

प्रकाशित मिति :  25 October, 2021 2:11 pm


तम्घास । गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुरकी दुर्पता भण्डारी परिवारले आफ्नो छ रोपनी खेतमा असारको मध्यतिर धान रोपे । उक्त धान अहिले काट्ने समय हो । यसैले असोज २९ गते खेताला लगाएर धान काटे । लगत्तै बेमौसमी वर्षा सुरु भयो । काटेको धान खेतमै डुब्यो ।

लगातार पाँच दिनसम्म खेतमा डुबेको धान यही कात्तिक ५ गतेबाट झाट्न सुरु भयो तर धानको बाला चुडिएर र धान उम्रिएर अधिकांश धान खेतमै नष्ट हुँदा उहाँको परिवार चिन्तामा छ । “सामान्यतया सबै खेतमा ३० देखि ३५ मुरिसम्म धान फल्थ्यो ।” उनले भने , “यो वर्ष १० मुरिजति पनि फल्न गाह्रो छ ।” धान उत्पादन कम हुने भएपछि बजारका चामलमा निर्भर हुनुपर्ने बाध्यता सिर्जना भएको उनले गुनासो गरे ।

इस्मा अम्मरपुरकै गोपाल सुनारले पनि १८ रोपनी खेतमा धान रोपेका छन् । पाँच दिनसम्म पानीले गर्दा बाला टुक्रिएर करिब ३० प्रतिशत धान खेतमै झरेको उनी बताउँछन् ।

पानी पर्ने/नपर्ने कुनै टुङ्गो नभएकाले उनले आइतबारदेखि धान काट्न सुरु गरेका छन् । “गत वर्षसम्म १०० मुरी धान फल्थ्यो, तर यो वर्ष ६०–७० मुरी मात्र हुने अनुमान गरेको छु,” उनले भने , “पानीले दाना झर्दै गएकाले धान स्याहार्न सुरु गरेको छु,” पराल पनि चिसो भएकाले काम नलाग्ने उनले दुखेसो पोखे ।

धुर्कोट गाउँपालिका–५ वस्तु गान्टारीका कृष्णप्रसाद भण्डारीले सात रोपनी खेतमा धान रोपेका छन् । साउनमा रोपेको धान अहिले दाना लाग्ने समय भएको छ तर यही समयमा परेको अविरल वर्षाका कारण अधिकाशं धान ढल्यो । यसले गर्दा उत्पादनमा कमी हुने उनी बताउँछन् ।

“परार साल बाटो खन्दा कुलो पुरियो, गत बर्ष धान नै राम्रो फलेन,” चिन्तित हुँदै उनले भने , “यस वर्ष राम्रो भएको थियो, पानीले सखाप बनाइदियो ।”

सामान्य समयमा खेतमा ३० मुरिसम्म धान फल्ने भएपनि यो वर्ष धानको आशा नरहेको उनले गुनासो गरे । यसका साथै उनले आफूजस्ता थुप्रै किसान वर्षाको कारण मर्कामा परेकोले सरकारबाट उचित राहत दिनुपर्ने माग गरे । अहिले कुनै राहत नपाए धानमा लगाएको लगानी पनि नउठ्ने उनले चिन्ता व्यक्त गरे ।

उनीहरूजस्ता धेरै किसान बेमौसमी वर्षाका कारण चिन्तित छन् । जिल्लाको अम्मरपुर, घ्यूबेँसी, चैरासी, शान्तिपुर, मजुवा, खैरेनी, खज्र्याङलगायतका क्षेत्रमा धान खेती हुने गर्दछ । यी क्षेत्रमा रामधान, खुमल ४, खुमल १, मकवानपुर १ उन्नत जातका धान लगाइन्छ ।

त्यस्तै हंसराज, वर्णशङ्कर, शङ्करलगायतका स्थानीय जातका पनि धान लगाइने गरिन्छ । उक्त धानमध्ये होचोमधयेको धान ढलेको प्रायः ढलेको छैन तर हंशराजलगायतको धान बढी ढलेको छ । काटेको धान पानीमा डुबेर उम्रिएको छ भने नकाटेको धानको पनि बाला चुँडिन थालेको छ । जसका कारण किसान मर्कामा परेका छन् ।

जिल्लामा कूल आठ हजार ९१८ क्षेत्रफलमा बर्खे धानको खेती गरिएको थियो । यसमध्ये ४४५ हेक्टर क्षेत्रफलको धान किसानले स्याहारेका छन् ।

२९ हेक्टर क्षेत्रफलमा लगाइएको धानमध्ये कतिपय पहिरोले पुरिएको छ भने कतिपय ठाउँमा काटेको डुबानमा परेको छ भने ६६३ हेक्टर क्षेत्रफलमा गरिएको धान खेती पूर्णरुपमा ढलेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी युवराज ढकालले जानकारी दिए । जिल्लामा सबैभन्दा धेरै चन्द्रकोट गाउँपालिकामा ९७ हेक्टर धान खेतीमा वर्षाले क्षति पु¥याएको छ ।

अहिलेसम्म जिल्लामा ढलेर एक करोड १९ लाख र डुबेर १० लाख गरी कुल एक करोड २९ लाखको क्षति अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए ।

किसानको राहतको सम्बन्धमा प्रमुख भण्डारीले ज्ञान केन्द्रमा राहत कोष नभएको तर प्रदेशको कृषि मन्त्रालयले केही राहत दिनसक्ने बताए । “ज्ञान केन्द्रमा कोष छैन, राहतस्वरुप दिने रकम पनि छैन ।” उनले भने, “विगतका वर्षमा जस्तै यस वर्ष पनि मन्त्रालयले राहत पठाउन सक्छ ।”।रासस



प्रतिक्रिया दिनुहोस !