बागमती प्रदेश मुख्यमन्त्री शाक्यद्वारा राजीनामा,एमालेले संघ र तीनवटा प्रदेशमा सरकारको नेतृत्व गुमायो
काठमाडौं । लुम्बिनी र गण्डकी प्रदेशपछि बागमतीमा पनि नेकपा एमालेले प्रदेश सरकारको नेतृत्व गुमाएको छ । विश्वासको मत नपाउने देखेपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज राजीनामा दिएकी छन् ।
मुख्यमन्त्री शाक्यले आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् ।
मुख्यमन्त्री शाक्यले मुख्यमन्त्री शाक्यले प्रदेशसभामा द्वन्द्व नहोस भनेर आफू मतविभाजनमा जान नचाहेको उल्लेख गरिन् । उनले भनिन्,“हामी संस्कारयुक्त बनौं, द्वन्द्व कम गरौं,प्रदेश बनाउन मिलेरै काम गरौं ।”
प्रदेश बनाउन नमिली सुखै नभएको बताइन् । मुख्यमन्त्री शाक्यले आगामी दिनमा मिलेर अघि बढ्न अहिले राजीनामा दिने बाटो नै आफूलाई ठीक लागेको उल्लेख गरिन् ।
शाक्य गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।
बागमती प्रदेशसभामा १०९ सदस्यमध्ये मुख्यमन्त्री शाक्यलाई नेकपा एमालेका ४३ सांसदको समर्थन छ । नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यमध्ये १३ जनाले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।
मत विभाजनमा जाँदा बहुमत नआउने पक्का भएपछि शाक्यले राजीनामाको बाटो रोजेकी हुन् । नेकपा एमाले संघमा प्रधानमन्त्रीसहित ३ वटा प्रदेशको नेतृत्व गुमाएको छ ।