खाणलाई कार्यवाहक दिएर प्रधानमन्त्री देउवा बेलायततिर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मा बालकृष्ण खाणलाई दिएर आफू बेलायततिर लागेका छन् ।
प्रधानमन्त्री देउवा नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत जान लागेको हो ।
स्कटल्यान्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन देउवा नेतृत्वको टोली बेलायत जाने भएको हो ।
कात्तिक १२ गते बिहान १० बजे कतार एयरको उडानबाट लन्डन जान लागेको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको सूचीमा उल्लेख गरिएको छ । पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएयता देउवाको यो पहिलो विदेश भ्रमण हो ।
परराष्ट्र मन्त्रालय अनुसार भ्रमणको टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव प्रेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीलगायत टोलीमा समावेश गरिएको छ ।
सो टोलीमा वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, मन्त्रालयका उपसचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट पनि रहेका छन् ।
सो सूची अनुसार भीआईपी सुरक्षा निर्देशिकाले तोकेको मापदण्डअनुसार सेनाका प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशस्त्र प्रहरी निरीक्षक रामहरि श्रेष्ठसहित ५ जना सुरक्षा अधिकृत र सरकारी सञ्चारमाध्यमका ३ जना पत्रकार प्रधानमन्त्रीसँगै जान लागेका हुन् ।
अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गो शहरमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुने अन्य सदस्य बेलायतस्थित नेपाली दूतावासबाट सहभागी हुने छन् । देउवा नेतृत्वको सो टोली कात्तिक १८ गते कतार एयरकै उडानबाट स्वदेश आउने कार्यक्रम तय भएको जनाइएको छ ।
त्यतिञ्जेलका लागि देउवाले कार्यवाहक खाणलाई तोकेका हुन् । प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री वा वरिष्ठ सिनियर मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्री तोक्ने चलन छ ।
प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री नै नियुक्त गरेका छैनन्।
मन्त्रिपरिषदमा प्रधानमन्त्री देउवापछि वरियताक्रममा गृहमन्त्री खाणलाई राखिएकोले यने जिम्मा उनलाई दिइएको बालुवाटार स्रोतको भनाइ छ । स्रोत अनुसार यसको जानकारी राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ।