प्रदेश नम्बर एकका मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा
काठमाडौं । प्रदेश नम्बर एकका मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएका छन् ।
विश्वासको मत नपाउने निश्चित भएको निक्र्यौ गरी आचार्यले सोमबार प्रदेश सभालाई सम्बोधन गरिरहेका बेला राजीनामा दिएका हुन् ।
आफ्नो सरकारको कामकाजको फेहरिस्ट सुनाउँदै प्रदेश सभाको सम्बोधन गरिरहेका बेलो आचार्यले भने “ आलोचना गर्नेले पनि सहयोग नै गर्नुभएको छ । म आजै मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु।”
सोमबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको प्रस्तावमाथि मतविभाजन गर्ने कार्यसूचीमा राखिएको थियो ।
प्रदेश प्रमुखले उनको राजीनामा स्वीकृत गरी नयाँ सरकार गठन गर्न आह्वान गर्नेछन् । राजीनामा पत्र बुझाउन प्रदेश प्रमुख कार्यालय जाने पनि मुख्यमन्त्री आचार्यले सम्बोधनको क्रममा बताएका थिए ।
विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी पूरा गरेको छ । राईलाई मुख्यमन्त्री बनाउन सांसदको हस्ताक्षर लिइसकिएको छ।
प्रदेश सभामा आचार्य नेकपा एमाले संसदीय दलका नेता समेत हुन्। उनी मुख्यमन्त्री बनेलगत्तै उनको सरकार अल्पमतमा परेको थियो ।
प्रदेश सभाको बैठक कात्तिक २३ गतेसम्मका लागि सभामुखले स्थगित गरेका छन्।