चाँगुनारायणका धान नफलेका पीडित किसानलाई नगरपालिकाले राहत दिने
भक्तपुर । चाँगुनारायण नगरपालिकाले धानको बोटमा भुसमात्र लागेर धान नफलेपछि पीडित किसानलाई राहत दिने भएको छ ।
सोमबार राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल, जिल्ला कार्यसमितिको आयोजना र नगरपालिकाको सहआयोजनामा भएको अन्तक्र्रिया कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले पीडित किसानलाई राहत प्रदान गरिने बताएका हुन् ।
नगरपालिकाका करिब ७० किसानले २०० रोपनी जमिनमा लगाएको धान उत्पादन नभएर किसान पीडामा परेकाले क्षति भएअनुसारको क्षतिपूर्ति नगरपालिकाले दिन नसके पनि केही राहत भने उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाको कृषि विज्ञले सिफारिस नगरेको र किसानलाई नलगाउन भनिएको धान नफलेर भुसमात्रै भएकाले धेरै फल्ने आशामा जथाभावी धान नरोप्न नगरप्रमुख मिश्रले किसानलाई सुझाव दिए ।
कार्यक्रममा चाँगुनारायण र सूर्यविनायकका पीडित २०० भन्दा बढी किसानको सहभागिता थियो । किसानले चिनियाँ धान डिवाइ २८, खुमल–८ लगायत धानको बीउ ल्याएर रोप्दा उत्पादन न्यून भएको बताएका छन् ।
हाइब्रिड धान लगाउँदा उत्पादन कम भएकाले अब सरकारले आफूहरूलाई राहत दिनुपर्ने किसानको माग थियो ।