३ आश्विन २०८१, बिहिबार

‘प्रदेश ५ मा म्याद गुज्रेको हात्तीपाइले रोगविरुद्धको औषधि’

प्रकाशित मिति :  18 February, 2020 8:21 pm


रूपन्देही, ६ फागुन। प्रदेश नं– ५ को प्रदेशसभाका सदस्यहरुले हात्तीपाइले रोग निवारणमा खुवाइएको औषधिको म्याद गुज्रेको भेटिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्य विजयकुमार यादवले बाँकेको डुँडुवा गाउँपालिकाको २ मा खुवाइएको औषधि तीन महिनाअघि नै म्याद सकिएको भेटिएको बताए । उनले स्वास्थ्यकर्मीले नै म्याद सकिएको औषधि बिरामीलाई खुवाएको भन्दै बैठकमा आपत्ति जनाए ।

हात्तीपाइले निवारणको लागि बाँके, बर्दिया, दाङलगायतका जिल्लामा केही दिनअघि मात्रै औषधि खुवाइएको थियो । ती औषधि मध्ये बाँकेमा खुवाइएको औषधि म्याद गुज्रिएको भेटिएको हो । बैठकमा प्रदेशसभाका सदस्य सन्तोष पाण्डेले नेपाललाई औषधि प्रयोशगाला बनाइएको भन्दै त्यसलाई रोक्न माग गरे । बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रदेशसभा सदस्य कुलप्रसाद पोखरेलले प्रदेशमा बनाइने योजना, भइरहेका गतिविधि र विकास निर्माणका कामबारे सदस्यहरुलाई जानकारी हुन आवश्यक रहेको भन्दै जनप्रतिनिधिको सहभागितामा योजना बनाउँदा प्रभावकारी हुने धारणा राख्नुभयो ।

प्रदेशसभाका सदस्य विष्णुप्रसाद पन्थीले लगानी सम्मेलन सफल बनाउन लगानीमैत्री वातावरण आवश्यक रहेको बताए । लगानी सम्मेलनले लगानी भित्र्याउने र रोजगारी सिर्जना गरी उत्पादन बढाउने काम हुनुपर्ने उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !