विप्लव जीहरूसँग पार्टीमा हात मिलाउन,अंकमाल गर्ने दिनको प्रतिक्षामा छु : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टी एकता गरेर अंकमाल गर्ने प्रतिक्षामा रहेको बताएका छन् ।
विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई पार्टी कार्यालय पेरिशडाँडा,काठमाडौं पार्टी प्रवेश गराउँदै प्रचण्डले भने,“ बाँकी कमरेडहरूलाई एकताबद्ध हुने बलियो सन्देशपनि तपाईंहरूले देशभित्र र बाहिर दिनुभएको छ । यस अर्थमा पनि तपाईंहरू बाधाइको पात्र हुनुहुन्छ । म छिट्टै अरु साथीहरूलाई, छिट्टै विप्लव जीहरूलाई यहाँ हात मिलाउन,अंकमाल गर्न गर्ने दिनको प्रतिपक्षामा छु ।”
कार्यक्रममा पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरूसँग छलफल भइरहेको जानकारी गराएका छन् । छुट्टै बसेर भन्दा सँगै बसेर क्रान्ति सम्पन्न हुने भन्दै अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि अहिले छलफल भइरहेको बताएका हुन् ।
प्रचण्डले जनयुद्ध कुनै लहडमा नभएको बताए । कसैले चाहँदैमा लहड चल्दैमा क्रान्ति नहुने र एक्लैएक्लै अगाडि जाँदा क्षतविक्षत हुने खतरा रहेको उनको भनाई थियो । उनले भने,“किरणको अर्को पार्टी बन्यो, चल्ने कुरो भएन, विप्लवको बन्यो, तपाईंहरू नै भुक्तभोगी बनेर आउनुभएको छ, हुने कुरा थिएन । त्यो त्यति सजिलो कुरा थिएन ।”
उनले एउटै समयमा थुप्रै प्रचण्ड जन्मन नसक्ने बताउँदै माओवादी आन्दोलन र प्रचण्डलाई प्रतिक्रान्तिकारीहरूले सिध्याउन खोजेको दाबी गरे । “प्रतिक्रान्तिकारीहरूले अहिले पनि हाम्रा आन्दोलनका उपलब्धिहरू उल्ट्याउने अभियानमा तारो माओवादी आन्दोलन र त्यसको नेताको हैसियतले प्रचण्डलाई नसिध्याएसम्म हुँदोरहेनछ भनिरहेका छन्,” उनले भने ।
“प्रचण्ड भन्ने कुरा प्रचण्डले जनमाको त होइन, नेपाली जनताले जन्माएको तपाईं हामी सबै लडेर निर्माण गरेको हो नि प्रचण्ड भन्ने व्यक्ति होइन ?फेरि एउटै युगमा एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैनन्,” उनले भने ,“थुप्रै माक्र्स, लेनिन र माओ हुँदैनन् एउटा समय र एउटा कालमा । जनता, आन्दोलन, संघर्ष, बलिदानले पैदा गर्ने हो, सही विचारले पैदा गर्ने हो । सही निर्णयहरुले पैदा गर्ने हो । यसलाई वर्ग संघर्षको रुपमा प्रतिक्रियावादीहरुले सिध्याउन खोज्छन् । जनताले त्यसलाई बचाउन खोज्छन् ।”