भेरी अस्पतालमा दुई दिनमा तीन जना कोरोना सङ्क्रमितको मृत्यु
प्रकाशित मिति : 14 November, 2021 11:14 am
काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई दिनको अन्तरालमा तीन कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
दुई दिनदेखि अस्पतालमा उपचाररत बर्दिया बढैयाताल गाउँपालिका–४ निवासी ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको हो ।
जिल्ला कोभिड सङ्कट व्यवस्पान केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार यही कात्तिक २५ गते पिसीआर गर्दा सङ्क्रमण पुष्टि भएपछि उनीलाई अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।
यसैगरी कैलाली लम्कीचुहा नगरपालिका–५ निवासी ७७ वर्षीय पुरुष र दाङ निवासी ४५ वर्षीया महिलाको शनिबार नै कोरोनाबाट निधन भएको थियो ।
यससँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा ४३१ जनाको कोरोनाबाट मृत्यु भएको छ । रासस